गण्डकी प्रदेश

अदालतको गाडीमा आगजनी

कावासोती । जिल्ला अदालत नवलपुरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेका छन् ।

कावासोती नगरपालिका–८ स्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरी राखिएको बा२झ ३५०२ नंको गाडीमा आगजनी भएको हो ।

आगजनी भएको गाडी जिल्ला अदालत नवलपुरका स्रेस्तेदार सारदादत्त बडुले प्रयोग गर्दै आएका थिए । स्रेस्तेदार बडु अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आएका थिए । राति घरमा पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो ।

आगजनीबाट गाडीको इञ्जिन, अगाडिको बायाँतर्फको टायर जलेर क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने बारे अनुसन्धान भइरहेको छ । विप्लव कार्यकर्ताले गाडीमा आगजनी गरेको हुनसक्ने आशङ्का प्रहरीको छ ।