प्रदेश 1

अबिल वर्षाका कारण पहिरोले धरान–धनकुटा सडक अवरुद्ध

धनकुटा । गएरातिबाट आएको अविरल वर्षाका कारण बर्जुवा खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।

आज बिहान लगभग ४ बजे पहिरो गएर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रशासन कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुरका लागि हिंडेका कयौं सवारीसाधन बाटोमा नै अलपत्र परेका छन् । स्क्राभेटरको माध्यमले पहिरो हटाएर वान वे बाटो खुलाउने कार्य भइरहेको खड्काले बताए ।

हिजो रातिबाट आएको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट लगायतका दर्जनौं स्थानमा पहिरो गएको ट्राफि प्रहरी प्रमुख खड्काले बताए ।