खेलकुद

रियल मड्रिडका डिफेन्डर मेन्डी चार साता मैदान करिब बाहिर

एजेन्सी । रियल मड्रिडका डिफेन्डर फेरल्याण्ड मेन्डी करिब चार साता मैदान बाहिर रहने भएका छन् । थाईमा समस्या देखिएपछि उनी करिब चार साता मैदान बाहिर रहने क्लबले पुष्टि गरेको हो । उनले ला लिगाको पहिलो साताको खेल गुमाउन सक्ने सम्भावना छ ।

फ्रान्सका अन्तराष्ट्रिय खेलाडी मेन्डी ठुलो रकममा रियल आएका थिए । उनी लिग वान कलब लियोनबाट रियल आएका हुन् । नयाँ सिजन रियलले पहिलो खेल सेल्टा भिगोविरुद्व खेल्दैछ । मेन्डीले सो खेल गुमाउन सक्ने क्लबले बताएको छ ।

उनले लियोनसंग सन् २०१७ मा पाँच बर्षको सम्झौता गर्नुअघि सन् २०१५ मा पहिलो टिममा स्थान बनाएका थिए । उनले दुवै सिजन ७५ खेलमा सहभागी भएका थिए । उनी सन् २०१७–१८ र २०१८–१९ को सिजनमा टिम अफ दी इयरमा पर्न सफल भएका थिए ।

उनी मड्रिडबाट प्रि–सिजन टूर अन्तर्गत ईन्टरनेश्नल च्याम्पियनस कपमा सहभागी थिए । उनी बार्यन म्युनिखविरुद्वको खेलमा वैकल्पिक खेलाडी र आर्सनलविरुद्व सुरुवातमै रहेर रियलको जर्सीमा मैदान उत्रिएका थिए । प्रि–सिजन टूरमा रहेको रियललाई चोटको समस्याले सताएको छ । घुँडाको जोर्नीमा चोट लागेपछि मार्को एसेन्सियोले नयाँ सिजन पुरै समय मैदान बाहिर रहने सम्भावना छ ।

मेन्डीलाई प्रशिक्षक जिनेदिन जिदानले मुख्य खेलाडीको रुपमा नयाँ सिजनका लागि अनुबन्धन गरेका हुन् । लण्डन क्लब चेल्सीका मिडफिल्डर ईडेन हजार्डसंगै रोड्रिगो, लुका जोभिक र इडर मिलिटाओलाई मुख्य खेलाडीको रुपमा जिदानले क्लबमा भित्राईसकेका छन् ।

यस्तै क्लबले म्यानचेष्टर युनाईटेडका मिडफिल्डर पाउल पोग्बालाई समेत अनुबन्धन गर्ने लक्ष्य लिएको छ । उनी अहिले ओल्डट्राफोर्ड क्लबमा रहेका छन् । पछिल्लो सिजन निकै खराब समय बिताएका रियलले एकै बर्ष दुई प्रशिक्षकलाई बर्खास्त गर्दै जिदानलाई क्लबको नेतृत्व दिएको हो ।