अन्तर्राष्ट्रिय

अफगानिस्तानमा हवाई आक्रमणः तालिवान कमाण्डरसहित ५० को मृत्यु

एजेन्सी । अफगानिस्तानमा बिहीबार भएको हवाई आक्रमणमा परी ५० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको छ ।

तालिवान लडाकूहरू भेला भएर बसेको सूचनाका आधारमा गरिएको आक्रमणमा परी जिल्लास्तरीय प्रमुख कमाण्डर पनि मारिएको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको पश्चिमी बाघीस प्रान्तमा पर्ने अब कुमारी इलाकामा आक्रमण भएको प्रान्तीय गभर्नर अब्दुल घाफुर माजिक्जाईले बताएका छन ।

“गुप्तचर निकायले दिएको सूचनाका आधारमा सुरक्षा निकायले हवाई आक्रमण गरेको थियो, घटनास्थलमा तालिवान लडाकूहरुको भेला चलिरहेको थियो,” उनले भनो । घटनामा परी लडाकूहरुका जिल्ला प्रमुख सायद शाह मारिएको गभर्नर माजिक्जाईले जानकारी दिएका छन । घटनास्थलमा लडाकूविरुद्ध सरकारी सुरक्षाकर्मीहरुले हवाई आक्रमण जारी राख्ने पनि उनले बताए ।

स्थानीय बासिन्दाका अनुसार तालिवान लडाकूहरू गत दश दिनदेखि यस क्षेत्रमा बसेका थिए । उनीहरूले त्यस भेलामा आफ्ना योजना र रणनीतिका बारेमा छलफल गरेका थिए । घटनाका बारेमा तालिवान लडाकूहरूको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।