समाचार

भ्रष्टाचारको मुद्दामा लामालाई साधारण तारेखमा छाड्न आदेश

काठमाण्डौ । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले लामालाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार लामा आज अदालतमा उपस्थिति भएर बयान दिएपछि साधारण तारिखमा छाड्ने आदेश दिइएको हो ।

निगमका पूर्वकार्यकारी निर्देशक खड्कासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले अकूत रुपमा आर्जन गरेको सम्पत्ति खड्काकी श्रीमती शर्मिला खड्का र सोदेम्बाका नाममा राखेको दाबी गर्दै खड्का र लामाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

निगमका पूर्वकार्यकारी निर्देशक खड्काले रु १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । आरोपपत्रमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिका नाममा रु सात करोड बराबरको सम्पत्ति लुकाई राखेकाले जफत गर्नुपर्न माग गरिएको छ ।

आरोपपत्रमा खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा रु एक करोड ८० लाख १६ हजार खर्च गरेको उल्लेख थियोे । तीमध्ये स्रोत खुलेको आय रु आठ करोड ६४ लाख ६९ हजार छ । बाँकी रु १८ करोड ६६ लाखको स्रोत खुलेको छैन । त्यो स्रोत नखुलेको सम्पत्तिलाई गैरकानूनी रूपमा आर्जन गरेको आयोगले उल्लेख गरेको छ ।