प्रदेश 1

लगातर बर्षाको कारण आएको बाढी पहिरोले व्यापारिक कारोवारमा कमी

गाइघाट। लगातारको वर्षाको कारण आएको बाढी र पहिरोका कारण उदयपुरको मध्यपहाडी र पश्चिमी पहाडी क्षेत्रका विभिन्न सडक तथा बाटाहरु अवरुद्ध हुन पुगेपछि जिल्लाको व्यापारिक केन्द्र कटारी र गाईघाट बजारको कारोवारमा कमी आएको छ ।

यातायात अवरुद्ध भएपछि गाईघाट बजारको व्यापार पचास प्रतिशतभन्दा बढीले कमी आएको व्यवसायीहरुले बताएका छन् ।

गाईघाटका थोक बिक्रेता धर्मप्रसाद महतोले भने, “पन्ध्र–बीस दिनअगाडि सम्म आफ्नो सामानहरु पहाडी क्षेत्रहरुमा दैनिक पच्चीस हजारदेखि पचास हजारसम्मको खरिद हुने गरेको थियो, अहिले सडक बन्द भएपछि दैनिक दुई हजारको हाराहारीमा व्यापार पनि हुन छाडेको छ, व्यापारमा ह्वात्तै कमी आएको छ ।”

अर्का स्थानीय व्यापारी भरत राईका अनुसार वर्षाका कारण पहाडी सडक अवरुद्ध भएपछि अहिले पहाडी क्षेत्रसँग व्यापार सम्पर्क नै टुट्न पुगेको बताए ।

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष गजेन्द्रकुमार भगतका अनुसार सडक अवरुद्धका कारण व्यापार हुन नसक्दा व्यापारीहरु प्रभावित भएका छन् । सडक अवरुद्ध र यातायात बन्दका कारण पहाडी क्षेत्रसँग गाईघाटको सम्पर्क टुट्दा यस क्षेत्रका आर्थिक कारोवार ह्वात्तै घटेको बताए ।

यस्तै जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा पनि अहिले जिल्लाको पश्चिमी पहाडी क्षेत्रसँग जोडिन सबै सडक अवरुद्ध भएका कारण त्यहाँ पनि आर्थिक कारोवार ह्वात्तै घटेकोे कटारीका व्यापारीहरु बताउँछन् ।

कटारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले कटारीदेखि घुर्मी, बेतिनी, जोड्ने सिद्धिचरण मार्गलगायत कटारी–बाहुनीटार, कटारी–रुपाटार, कटारी–माझखर्क क्षेत्र जोड्ने सबै पहाडी सडक अवरुद्ध हुन पुगेपछि कटारी बजारको कारोबार प्रायः ठप्प भएको बताए
यसैगरी वर्षाका कारण बाढीपहिरोले गर्दा पहाडी क्षेत्रका अधिकांश सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रमा दैनिक उपभोग्य समानको अभाव हुन थालेको छ । गाइघाट।