प्रदेश 1

सम्पन्न भएको ६ महिनामै छत फुटेर कार्यालय भवन चुहिँदा कर्मचारी र सेवाग्राही मर्कामा

गाइघाट।  त्रियुगा नगरपालिकाको कार्यालयमा निर्माण भएको नयाँ भवन ६ महिनामा नै चुहिन थालेको छ ।

उदयपुरको गाईघाटस्थित सो नयाँ कार्यालय भवन निर्माण ठेकेदार कम्पनीको लापरवाहीका कारण निर्माण सम्पन्न भएको ६ महिनामै छत फुटेर पानी चुहिन थालेको हो ।

गत पुसमा निर्माणसम्पन्न गरेर माघ महिनादेखि प्रयोगमा आएको भवनको छत फुटेर दैनिक पानी चुहिन थालेपछि कर्मचारीहरुलाई सेवा प्रवाह गर्न समस्या भइरहेको छ । कर्मचारी मात्रै होइन, दैनिक पानी चुहिन थालेपछि सेवाग्राहीहरु समेत प्रभावित भएको नगरपालिकाका सूचना अधिकृत विश्वजीत राईले बताए ।

सो भवन सिरहाको बालकी निर्माण कन्स्ट्रक्शन प्रालिले निर्माण गरेको उनले बताए । शुरुमा भवन ठिकै निर्माणसम्पन्न भए पनि अहिले अचानक पानी चुहिन थालेपछि ठेकेदार कम्पनीले लापरवाही गरेर भवन निर्माण भएको हुन सक्ने नगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

नगरपालिकाको प्राविधिक शाखा, योजना शाखा, प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाका कर्मचारीहरु कार्यालयमा बस्न नसक्ने अवस्था आएको तथा सेवाग्राहीहरु कार्यालयभित्र छाता ओढेर बस्नुपर्ने अवस्था आएको नगर कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरु बताउँछन् । भवन चुहिन थालेको र छतसमेत फुट्न थालेको विषयमा तत्काल नै नगरपालिकाले त्रियुगा नगरपालिका–१६ का वडाध्यक्ष मानबहादुर राईको संयोजकत्वमा एक अध्ययन समितिसमेत गठन गरेको त्रियुगा नगरपालिकाले जनाएको छ ।

यदि भवन निर्माणमा ठेकेदारको लापरवाही देखिन आए सम्बन्धित ठेकेदार कम्पनीलाई पत्रचार गरी पुनः भवनको छत ढलान गर्न लगाइने र क्षतिपूर्तिसमेत भराउन लगाउने नगरपालिकाका सूचना अधिकृत राईले बताका छन् ।

रु २८ लाखको लागतमा उक्त भवनको निर्माण कार्य गत पुसमा सम्पन्न गरेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।