समाचार

तनाव कम गर्न दुई दिने राजयोग शिविर

नेपाली काँग्रेस चितवनले आफ्ना नेता तथा कार्यकर्ताहरुको तनाव व्यवस्थापनका लागि दुईदिने राजयोग शिविर आज सम्पन्न गरेको छ । पछिल्लो समय मानसिक तनावका कारण समाजमा हुने सामाजिक घटनाहरुलाई न्यूनीकरण गर्दै आफूलाई असल नेताका रुपमा उभ्याउन सहज हुने भन्दै यो शिविर सञ्चालन गरिएको हो ।
काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तनावले कसैलाई पनि फाइदा नहुने भएकाले तनावको व्यवस्थापन गर्दै सिङ्गो पार्टीसँगै देश बनाउन लाग्नु आवश्यक रहेकाले शिविरको आयोजना गरिएको बताए ।

शिविरमा ब्रह्मकुमार राजु घलेले प्रशिक्षण दिँदै मानिसको जीवनमा दुई तरिकाको तनाव हुने भन्दै यसको व्यवस्थापमा आफैँले ध्यान दिनु आवश्यक रहेको बताए । बाह्य तथा आन्तरिक तनावका कारण मानव जीवन दुःखमय बनेको सो अवसरमा जानकारी दिइएको थियो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको सहआयोजनामा गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिलाई तनावले समस्यामा पारेको बताएका थिए । तनावलाई व्यवस्थापन गर्न सकेमा मानव जीवन सुखमय हुने उनीहरुको भनाइ थियो । बाह्य सुख खोज्नु र पारिवारिक व्यवस्थापन गर्न नसक्नुका कारण मानव जीवन दुःखद बन्ने गरेको छ । शिविरमा १५० जना नेता कार्यकर्ता सहभागी रहेका थिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनको संयोजनमा जिल्लाका कार्यालय प्रमुख र सूचना अधिकारीहरुलाई बुधबार साँझ तनाव व्यवस्थापन शिविरको आयोजना गरिएको छ । प्रशिक्षक राजु घलेले सहभागीहरुलाई शिविरमा प्रशिक्षण दिएका थिए ।
प्रजिअ जितेन्द्र बस्नेतले कर्मचारीहरुमा कामका समयमा हुने तनाव व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले शिविरको व्यवस्था मिलाइएको बताए ।