कृषि

आयआर्जनमा सहयोगको लागि निःशुल्क बिरुवा वितरण

पोखरा। वातावरण संरक्षण एवं स्थानीय बासिन्दाको थप आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ पोखरा महानगरपालिका–२४ स्थित बडरे क्षेत्रमा निःशुल्क बिरुवा वितरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा लेकसाइडद्वारा तरकारी, फलफूल तथा घाँसलगायत विभिन्न जातका एक हजार २५० वटा बिरुवा वितरण गरिएको हो । सो अवसरमा एभोकाडो, कागती, कफी, लप्सी, तेजपत्ता, निमारो, बकाइनो, अम्बा, कुरिलो, चाँप, कपुर, शीतल, चिनीलगायतका रु ५५ हजार बराबरका बिरुवा वितरण गरिएको क्लबका अध्यक्ष गोमा ढकालले जानकारी दिए ।

सोही स्थानमा सञ्चालित इन्द्रेणी अर्गानिक तरकारी फर्मका सञ्चालकसमेत रहेका ढकालका अनुसार सो क्षेत्रमा बाँझिएको जमीनलाई उत्पादनमूलक बनाउँदै स्थानीय बासिन्दाको आयआर्जनमा सहयोग पुग्नेछ । चिप्लेटी कृषक समूहका उपाध्यक्ष माया तिमिल्सिनाले ‘सके तरकारी उत्पादन गरेर बिक्री गरौँ, नसके पनि किनेर नखाउँ’ भन्ने नाराका साथ गठन गरिएको समूहले यसअघिदेखि नै अभियानका रुपमा मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएको बताए ।

‘‘बाँझिएको जमीनमा सामूहिक तरकारी एवं फलफूल खेती गरी उत्पादित वस्तु पोखराको पर्यटकीयस्थल लेकसाइडमा बिक्री गरी आयआर्जन गर्ने अभियानका दिदीबहिनी जुटेका छौँ’’, उनले भने । बिरुवा हस्तान्तरण समारोहमा लायन्स क्लब डिस्टिक भिडिसी विशेश्वर आचार्यले रोपिएका बिरुवाको उचित संरक्षण गर्दै त्यसबाट समूहले भरपुर फाइदा लिन सक्नुपर्नेमा जोड दिए।

पोखरा महानगरपालिकाका कृषि प्राविधिक सुरोज सिलवालले समूहका कृषकलाई बिरुवा रोप्ने र गोडमेलका बारेमा जानकारी गराएका थिए । कृषक समूहका सचिव रमेश केसीका अनुसार बिरुवा रोप्नका लागि आवश्यक खाडल तयार गरिएको छ ।