बाग्मती

महिला पाठेघरसम्बन्धी रोगबाट पीडितः बेलायत सरकारद्वारा किटब्याग निःशुल्क

दोलखा। नेपालका अधिकांश महिला पाठेघरसम्बन्धी रोगबाट पीडित भएपछि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको छ । पन्ध्रदेखि ४९ वर्षभित्रका आमा, दिदीबहिनीमा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने र पाठेघरको क्यान्सर हुनेजस्ता समस्याबाट धेरै नै प्रताडित भएकाले त्यसबाट जोगाउन फ्रिडम किटब्याग संस्थाले निःशुल्क किटब्याग बाँडेको हो ।

तीन वर्षअघिदेखिको अनुसन्धानमा किटब्याग प्रयोग गर्ने महिलामा योनी चिलाउने, पाठेघरको मुख दुख्ने, पाठेघर खस्ने समस्यामा धेरै नै कमी भेटिएको चरिकोट प्रस्तावित अस्पतालका डा विनोद दङ्गालले बताए । दोलखामा तीन वर्षअघि बेलायत सरकारको सहयोगमा फ्रिडम किटब्याग संस्थाले दोलखाका १६० महिलालाई निःशुल्क किटब्याग बाँडेको थियो । उनीहरुको स्वास्थ्य जाँच गर्दा यो समस्या अत्यन्तै न्यून देखिएको अनुसन्धानमा खटिएका डा दङ्गालको भनाइ छ ।

पाँचौँ पटकमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट र श्री पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयका छात्रा गरी १६० जनालाई संस्थाले दोलखामा महिलालाई निःशुल्क किटब्याग बाँडेको संस्थाकी सद्भावनादूत निर्मला श्रेष्ठले बताइन् ।

वातावरण संरक्षण तथा महिलाको स्वास्थ्यमा केन्द्रित भई दोलखालगायत सिन्धुपाल्चोक, काठमाडौँ, रुकुम, रोल्पा, डडेल्धुरा, अछाम, बाजुरा र तराईका सबै जिल्लामा फ्रिडमले महिलालाई निःशुल्क किटब्याग बाँड्दै जनचेतना जागृत गराउने कार्यक्रम गदै आएको संस्थाकी सद्भावनादूत श्रेष्ठले जानकारी दिइन् । एउटा किटब्यागलाई राम्रोसँग प्रयोग गरे कम्तीमा तीन वर्षसम्म चलाउन मिल्ने श्रेष्ठले बताए । एक किटब्याग तयार गर्न कम्तीमा रु दुई हजार लाग्ने उनको भनाइ छ ।