विचार/ब्लग

समाजनै दुर्जनहरुले भरी भराउ- कथा

मध्यरात भई सकेको हुन्छ । कतै केही हल्ला सुनिएको छैन । चीरीबिरी गर्ने चराहरु पनि मस्त निद्रामा परेका छन् । भोक लागेको भए पनि निद्राले उनीहरुलाई जिती सकेको छ । थकाईको कारणले गर्दा मानिसहरु मस्त निद्रामा परेका छन् । म मनमा कुरा खेलाउंदै जान्छु ।

 

कृष्णमणि पराजुली/ म नजन्मिएको भए सायद मैले यो धर्ती देख्ने थिईन । मेरा बाबु आमा ,श्रीमति छोरा छोरी, नाता गोता, ईष्ट मित्र, साथी भाई कोही संग पनि सम्बन्ध हुंदैनथ्यो । मैले शिक्षा हासिल गर्ने थिईन । देश बिदेश जान सक्ने थिईन । कुनै प्रकारको बन्द ब्यापार, उद्योग धन्दा, नोकरी आदि हुंदैनथे र कोही संग पनि बोलचाल हुने थिएन । यस्तै यस्तै अनगिन्ति कुरा हुंदैनथे । तर अहिले म जन्मिएर के भएको छ र ? घरपरिबार संग बस्नु मात्र पनि सबै चीज होईन । बस्न पाउनुले पनि त अर्थ दिनु पर्छ नी । मानबले मानबीय ब्यबहार पाउंदैन भने जन्मीनुको के अर्थ हुन्छ र ?

मध्यरात भई सकेको हुन्छ । कतै केही हल्ला सुनिएको छैन । चीरीबिरी गर्ने चराहरु पनि मस्त निद्रामा परेका छन् । भोक लागेको भए पनि निद्राले उनीहरुलाई जिती सकेको छ । थकाईको कारणले गर्दा मानिसहरु मस्त निद्रामा परेका छन् । म मनमा कुरा खेलाउंदै जान्छु । रात छिपिएर दिन बन्ने तर्फ ढल्कदैछ । तर मलाई भने निद्राले छुन सकेको छैन । जति निदाउन कोशीष गरे पनि निद्रा आउंदै आउंदैन । म मन्मा कुरा खेलाउंदै जान्छु । धेरै बर्ष बांचि सकेको हुंदा बग्रेल्ती कुराहरु आई रहन्छन् । सबै मेरै जीवनमा घटीत भएका हुंदा सबैनै आफूलाई उस्तै उस्तै लागेका हुन्छन् ।

हो, निश्चयनै हो, मैले जन्म नलिएको भए यी यावत् कुरा बाट मैले मुक्त पाउने थिएं । आमाको कोखमा नौ महिना सम्म रहंदा आमालाई कति कष्ट भयो होला , सायदनै पुरुष बर्गले त्यो अनुभव बताउन सकेको हुन्छ । जन्माउनु, हुर्काउनु, पढाउनु जस्ता कर्म गराउनु पनित सानो कुरा हुंदैनथ्यो होला । आफ्नो शरीरको भन्दा पनि सन्तानको बढि माया लाग्नु बाबु आमाको लागि स्वभाबिकै हो । पशु पंक्षि, चरा चुरुंगीले आफ्नो सन्तानलाई कतिबिधि माया गरेका हुन्छन् भने मानबीय सम्बेदना भएका हामीलाई त नहुने कुरै भएन ।

यो लामो जीवनको अनुभवमा मैले धेरै कुरा सिक्ने, बुझ्ने र जान्ने अबसर पाएं । मैले मात्र होईन धेरैले धेरै कुराको अनुभव समेटेका हुन्छन् । तर मैले भने अलि फरक किसिमको पाएको जस्तो लागेको छ । हुनत सामान्य मानिसहरुका कथा ब्यथा उस्तै उस्तै पनि हुन्छन् ।

मानिस बदलि सकेको छ । उसलाई कसैको मतलब छैन । एक प्रकारले उ छाडा भई सकेको छ । कानून आफ्नो हातमा लिएर अरुलाई अन्याय दिन सके आफूलाई ठूलो सम्झने पात्रहरु यो समाजमा प्रसस्तै भेटिन्छन् । अन्याय अत्याचारले ठाउँ लिई रहेको हुंदा समाजमा बिकृति फैलिदै गएको छ । मानिस नराम्रा काम गर्न उत्साहित हुंदै गई रहेको छ । मानिसलाई जसरी भएपनि धनी हुनु छ ।

मैले केही गर्न नसकेको कारणले गर्दा निरासको खेती गरेको होईन । निरास बनाउन अनगिन्तिमान्छेहरु यहि धरतीमा पाईंदा रहेछन् । मानिस बदलि सकेको छ । उसलाई कसैको मतलब छैन । एक प्रकारले उ छाडा भई सकेको छ । कानून आफ्नो हातमा लिएर अरुलाई अन्याय दिन सके आफूलाई ठूलो सम्झने पात्रहरु यो समाजमा प्रसस्तै भेटिन्छन् । अन्याय अत्याचारले ठाउँ लिई रहेको हुंदा समाजमा बिकृति फैलिदै गएको छ । मानिस नराम्रा काम गर्न उत्साहित हुंदै गई रहेको छ । मानिसलाई जसरी भएपनि धनी हुनु छ । धनीलाईनै समाजले मान्यता र ईज्जत दिएको छ । जो संग धन सम्पत्ति छैन, उ बाध्यताबस अरु बाट अलग्गिनु परेको छ । राम्रा मान्छे पाखा लगाईनु हाम्रा मान्छे अथवा नराम्रा मान्छेको बिगबिगिले समाज भरीदै जानु निश्चयनै भोलीको समाज कति दुर्गन्धित हुनेछ भन्ने चिन्ता लाग्नु स्वभाबिकनै हुनेछ भन्ने जस्ता मनमा आएका बिषयहरुले मलाई खिन्न बनाई रहेको हुन्छ ।अहिले को कुरा गर्दा थोरै मानिस धेरै धनी छन् । धेरै मानिस धेरैनै गरीव भएका छन् । गरीब गरीब हुंदै गएको छ ।

म नजन्मिएको भए मेरो दाई भाईहरु पनि निकै खुशी हुन्थे होलान् । यो धरतीमा उनीहरुलाई धनी मानिस बन्नु थियो । ठांट गांठ हुनु थियो । आफूले कुनै परिश्रम नगरे पनि पैतृक सम्पत्तिमा रजाई गर्न सम्भब हुने थियो । उनीहरुको एक मात्र उद्देश्य सम्पत्ति थुपार्न सजिलो हुने थियो । एक भाई नभए पछि उनीहरुको भागमा धेरै सम्पत्ति हुनु स्वभाबिकै थियो । म कल्पना गर्छु म नभएको भए उनीहरु धेरै धेरै खुशी हुन्थे । खुशीको सीमानै हुन्थेन । मैले गरेको कल्पना र उनीहरुले गरेको कल्पनामा खासै कुनै फरक थिएन । मेरो कल्पना म नजन्मिएको भए उनीहरु कति बिघ्न खुसी हुन्थे होलान् भन्ने थियो । उनीहरु पनि म नजन्मिएको भए, हामीहरु कति धेरै धनी र खुसी हुने थियौं भनी कल्पना गरी रहेकै हुन्थे होलान् ।

म नजन्मिएको भए उनीहरुलाई म प्रतिको बोझ हुने थिएन । मेरो लालन पालन गर्नु पर्दैनथ्यो । त्यसरीनै मेरो पढाईमा हुने खर्च जोगिन्थ्यो । जोगिएको पैसाबाट उनीहरुले अझ बढि सम्पत्ति जम्मा गर्न सक्थे होलान् । मनमा चैन र खुसीको बाहर आउंन सक्थ्यो होला । सम्पत्ति बढ्न गएकोमा समाजमा ठांटसंग सान देखाउन सहज हुन्थ्यो होला । उनीहरुलाई आफ्ना सन्तानलाई पढाउन र उनीहरुको तडक भडक बढाउन निकैनै सहज परिस्थिती बन्न जान्थ्यो होला । धनी हुन चाहनेले यस्ता कुरा कल्पना गर्नु स्वभाबिकै पनि होला । कल्पना नगरी अथवा दिमागमा कुनै पनि कुरा नचढाई यथार्थमा परिबर्तन गर्न पनि त सकिदैन ।कुनै पनि मानिस निश्चित गन्तब्यमा पुग्नको लागि एक एक कदम अगाडि नबढाई कसरी गन्तब्यमा पुग्न सकिन्छ र? । गन्तब्यमा पुग्नको लागि पाहिला अगाडि बढाउनै पर्ने हुन आउंछ । धनी हुने लक्षको लागि पनि त मेरा दाजु भाईहरुले कल्पनाका कदमहरु अघि बढाउंदै नाजायज काम गर्ने तर्फ अग्रसर हुने नै भए ।

म जन्मि सकेको अबस्थामा मलाई निमिट्यान्न बनाएर शोषण गर्न पनि त्यति जायज नहुने हुंदा उनीहरुलाई चीन्ता बढ्नु पनि स्वभाबिकै थियो । बरु मैले जन्म नलिएको भए उनीहरुलाई धेरै हाई सन्चो हुन्थ्यो होला । त्यसैले उनीहरुले आफ्नो कल्पनालाई साकार रुप दिन धेरै षड्यन्त्रका जाल फिजाउंदै जानु एक प्रकारले स्वभाबिकै पनि थियो होला ।

म जन्मिनु र नजन्मिनुमा उनीहरुको लागि केही फरक थिएन । जसरी पनि मलाई नजन्मिएको जस्तो बनाउनु थियो उनीहरुलाई बनाए पनि । यो काम उनीहरुको लागि कठिन थिएन । यस्ता कुराहरु उनीहरुले गरीनै आएका थिए । जसरी भएपनि उनीहरुले आफूले चिताएको कुरा पुर्याउन सके भई हाल्योनी ।

घरको परिवारमा एक जना सदस्य थपिना साथ त्यो घरमा खुशीको बहार आएको हुन्छ । मलाई राम्रै थाहा छ राईटर वाको घरमा छोरो जन्मिदा यति ठूलो खुशीयाली आयोकी राईटर वा ले ठूलै घोर्ले खसी काटेर गांउलेहरुलाई भोज ख्वाएका थिए । भोजमा सबै मानिसहरुले सालको पातको टपरीमा मासुको झोल र चौटा सराबरी पारेर खाएको सम्झना अझै पनि मलाई रहिरहेको छ । म निकै सानो भए पनि अरुहरुको पछि लाएर गएको थिएं । त्यहां नाच गान पनि भएको थियो । बाताबरण निकै रमाईलो छियो ।

त्यो बाताबरण अहिलेको मेरो आफ्नै अबस्थासंग तुलना गर्न मन लाग्छ । मेरो मन खल्लो भएर आउंछ । राईटर बा त आफू बाउ भएकोमा खुशी लाग्नु स्वभाबिकै थियो । म जन्मिदात मेरा बाबु पहिलेनै बिति सक्नु भएकोमा खुशी गर्ने मान्छे पनि त कोही थिएनन् । आफूले बच्चा जन्माउंदा जति सुकै प्रसब बेदनाको पिडा भएपनि आमालाई त्यो क्षणको खुशी जस्तो खुशी कहिले हुंदैन भन्ने कुरा मैले सुनेको पनि थिएं । मलाई लाग्छ म जन्मिदा मेरी आमा बाहेक अरु खुशी हुने कोही थिएनन् । आमा पनि खुशी नहुन् भन्ने चाहनाको बिकास गर्ने तर्फमा मेरा दाजुभाईहरु लागेकै थिए । यस प्रकारको बाताबरणले मेरो मन खिन्न बनाई रहेको हुन्थ्यो । यहि बाताबरण फैलिंदै गएकोमा म पनि जीवन देखि निरास र अरु बाट टाढिदै गएको थिएं ।

मान्छेको अहिलेको प्रबृत्ति भनेको स्वार्थीपननै हो । जे जस्तो काम गरेर भएपनि आफ्नो ईच्छा पूर्ति गर्नुनै हो । म जन्मिएर मेरा दाईभाईलाई के पिडा हुन्थ्यो र ? आ अफ्नो परिश्रमले बांच्ने हो । यसमा दुःख मान्नु पर्ने कुनै कुरा थिएन । परिवारमा एउटा सदस्य बढेकोमा केपो भई हाल्थ्यो र । केको चिन्ता? । तर पनि खाई पाई आएको सम्पत्ति बांड्नु पर्ने चिन्ताले सताई रहेको हुंदो रहेछ । अरुलाई दिन नपरोस् भन्ने भावना श्रृजना भई तदनुरुपको कार्यले समाज र आफ्नै परिवारमा पनि नराम्रो अबस्था श्रृजना गर्दो रहेछ ।

बाल्यकालमा मेरी आमाले मलाई ज्यादै माया गर्नु हुन्थ्यो र अहिले सम्म पनि म प्रति उहांको अगाढ पुत्र स्नेह रहकै छ । यद्यपी परिवारका सदस्यहरुले म बाट मेरी आमालाई टाढै राख्न चाहेका छन् र त्यस किसिमको बाताबरण बन्दै गएको हुंदा यो धरतीमा मैले किन पाईतला टेकें हुला जस्तो लाग्छ मलाई । नजन्मिएको भए यो अबस्थात श्रृजना हुने थिएन । नजन्मिएकै अबस्थामा पुग्नुनै थियो भने किन जन्मिनु? । जन्मिने बित्तिकै मृत्यु भएको भए मलाई पनि हाई सन्चो , उनीहरुलाईत झनै हाई सन्चो हुन्थ्यो होला?। यसरी आफ्नै सहोदर रगत बाट शत्रुतापूर्ण ब्यबहार हुनु भनेको म प्रति उनीहरुको सम्बन्ध टुटाउनु नै हो । हरेक कुरामा दोष देख्नु , गाली गलौच गर्नु, बिभिन्न षड्यन्त्र गर्नु, शोषण गर्नु, हप्की दप्की गर्नु आदि कार्यहरुले मेरो आत्मा रुनु स्वभाबिकै हो । त्यसको अतिरिक्त म मात्र एक्लो छोरो हुं भनेर सबै सम्पत्ति आफ्नो नाममा बनाउनु कति सम्मको अन्याय हो ।

अर्को कुरा यो धरतीमा मेरो आगमन नभएको भए अहिले मेरो आंखाले देखी रहेका हिंसा, हत्या, बलात्कार, चोरी, डकैती, जेल नेल, भ्रष्टाचार, रोग भोग, अभाव आदि कुराहरु देख्न पर्दैनथ्यो र साथै भोग्न पनि । तर यति मात्र छैनन्, धेरै नराम्रा कुराहरुले यो समाजमा जरा गाडि रहेकै छन् र अझ मौलाउंदै छन् । समाजको यस प्रकारको दयनीय अबस्था देखी रहनु भन्दात म नजन्मिएकै ठीक जस्तो लागेको हुन्छ मलाई । समाजमा देखिएको बिकृति ब्यक्ति, परिवार हुंदै आएको त होनी । ब्यक्तिको मन सफा भै दिएको भए सायद हाम्रो समाजमा बिभिन्न प्रकारका बिसंगति आउने थिएनन् होला ।

यो धरतीमा मेरो आगमन नभएको भए अहिले मेरो आंखाले देखी रहेका हिंसा, हत्या, बलात्कार, चोरी, डकैती, जेल नेल, भ्रष्टाचार, रोग भोग, अभाव आदि कुराहरु देख्न पर्दैनथ्यो र साथै भोग्न पनि । तर यति मात्र छैनन्, धेरै नराम्रा कुराहरुले यो समाजमा जरा गाडि रहेकै छन् र अझ मौलाउंदै छन् ।

यो समाज निर्माणको नराम्रो पात्रको रुपमा चिन्न सकिने धेरै पात्रहरु छन् । यो समाजलाई कन्चन बनाउनुको सट्टा फोहोर बनाउने काम यस्तै पात्रहरुले गरी आएका छन् । त्यसैले मलाई लागि रहेको छ यो धरतीमा यस्ता पात्र र यस्तो समाजमा नजन्मिनु ठीक हो जस्तो लागेर आउंछ । जुन समाजले अरुको भलाई चाहंदैन, अरुलाई शोषण र दुख दिएर आफू धनि हुने प्रबृत्तिको बिकास गरेको हुन्छ , त्यहां कसरी रमाउन सकिन्छ र ?। बरु त्यस्तो ठाउं बाट अन्यत्र पलायन हुनु नै श्रेयस्कर हुने जस्तो लाग्दछ । आफ्नै रगत र आफ्नै समाजले धोका दिएपछि बिबेकशील मानिसको लागि यहिनै उपदेश हुन्छ ।
मलाई थाहा छ मानिस रीस, डाह, लोभ, पाप, स्वार्थले भरिपूर्ण भएको हुन्छ । यी कुराहरु भएनन् भने मानिस देबता सरह नै हुन पुग्दछ । देवता भन्नुको अर्थ यी चीज बाट मानिस टाढै रहनु पर्दछ । तर आजको हाम्रो घर ,परिबार, नाता गोता, समाज जता ततै यस्तै दुर्गुणहरुले प्रश्रय पाई रहेका छन् र समाज अधोगतिमा गई रहेको पाईन्छ ।

हो, मैले मेरै आंखाले देखेको छु । रामे, किस्ने, डल्ले, गणेशहरुले आफ्नो जन्म थलो छोडेर बिदेशीन परेको । बाठा टाठाहरुले यिनीहरुलाई लोभ लालचा , ललाई फुल्याई गरेर भएभरको सम्पत्ति हात पारी सकेपछि मोरेको पशुलाई किर्नाले छोडे सरह छोडि दिएपछि बिदेशीनु बाहेक अन्य बिकल्प पो के थियोर यिनीहरुसंग ?यसरी यी मानिसहरु पलायन भएको देख्दा मलाई यो समाज, यो परिवार र यी ब्यक्तिहरु देख्दा घृणा लागेर आउंछ । मैले पनि यो धरतीमा किन जन्म लिन परेको होला जस्तो लागेर आउंछ ।

भनीन्छ, अन्याय सहनु पनि पाप हो । तर ब्यबहारमा लागु गर्न सकिएको हुंदैन । समाजनै यस्ता दुर्जनहरुले भरी भराउ भई सकेपछि यसलाई सफा गर्न पनि त समय लाग्ने नै भयो । यस प्रकारको समाजमा रहेका बिद्यमान पात्रहरुको बिचारमा परिबर्तन ल्याउने सानो तिनो काम पनि होईन । बर्षौ देखि जरागाडेर बसेको मनस्थितिलाई उखालेर फाल्ने कुरा चान चुने होईन । एक एक ब्यक्ति गरी सबै मिलेर जगडेर बसेको दिमागको फोहोरलाई फाल्न सक्यौं भने मात्र भाबि पिँढीले आनन्दसंग जीवन यापन गर्न सक्नेछन्, अन्यथा हाम्रो समाज अझ दुःखदायी हुनेछ ।

धेरै दिन रात मैले यस्ता कुरा सम्झदै बिताएं । सम्झेर पनि के गर्नु । हाम्रो समाजको बनावट यसरीनै चली आएको छ । अगुवा भनीनेहरु जसरी भएपनि अरुलाई प्रताडित पारेर आफू अघि बढि रहेकै हुन्छन् । निसहायहरु जहिले पनि पछिनै पर्दै आएका छन् । घर परिवार, नाता गोता, ईष्ट मित्र, समाज नै अगुवाको पक्षमा लागि दिए पछि निर्बलताहरुलाई कस्ले न्याय दिने ? म जस्ताहरुले न्याय पाउन नसकि अन्यायमा परेका उदाहरणहरुत कति होलान् कति । त्यसैले अन्याय सहेर शोषित भई बस्नु भन्दात नजन्मिएकै बेश हुन्थ्यो जस्तो लागी रहेछ ।
( लेखक पराजुली पुर्व उपसचिव हुन् । )