आर्थिक

मेचीनगरद्धारा एक अर्ब ८८ करोड बजेट सार्वजनीक

भद्रपुर । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो ।

असार १० गते शुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्रमुख मीना उप्रेतीले बताएका छन । बजेटमा नेपाल सरकारबाट समानीकरणमार्फत रु २५ करोड १९ लाख र प्रदेश नं १ सरकारबाट सोही शीर्षकमा रु ८९ लाख २३ हजार प्राप्त हुने उल्लेख छ भने विभिन्न कर महसुलबाट रु १० करोड ५८ लाख ४० हजार आन्तरिक आय हुने प्रक्षेपण गरिएको छ ।

नयाँ बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यलगायतमा प्राथमिकता दिइएको छ । गत आवको भन्दा यो वर्ष आन्तरिक आय रु छ करोड वृद्धि गर्ने लक्ष्य लिइएको उपप्रमुख उप्रेतीले बताए ।  बजेटमा नगरका १५ वडालाई रु एक करोड ३० लाखका दरले वडा बजेट विनियोजन गरिएको र नगरका विपन्न व्यक्तिलाई उपचारका लागि रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन ।

नगरप्रमुख विमल आचार्यले बजेटलाई समयमै खर्च गरी फछ्र्योट गर्नका लागि जेठ मसान्तभन्दा उता कुनै पनि परियोजनाको बिल भर्पाइ स्वीकार नगरिने र रकम निकासका लागि चेक नकाटिने घोषणा गरेका हुन । बजेटमा हुने गरेको ‘असारे खेती’को बेथिति रोक्न नगरपालिकाले यस्तो कदम चाल्ने निर्णय गरेको नगरप्रमुख आचार्य बताउनुुहुन्छ । उहाँले मुलुकको प्रवेश नाकासमेत भएको र पर्यटकलाई असुविधा नहोस् भनेर यो वर्षदेखि नगरभित्र पटके सवारी कर खारेज गरिएको जानकारी दिएका छन ।