अन्तर्राष्ट्रिय

जापानी प्रधानमन्त्रीद्वारा सरकारी नीतिले असर परेका जनतासँग क्षमा याचना

टोकियो । जापानका प्रधानमन्त्री सिन्जे आबेले सरकारी नीतिले असर परेका जनतासँग बुधबार माफी मागेका छन ।
कुष्ठरोगका बिरामीलाई पक्षपात गर्नेगरी यसअघि लागू भएको नीतिगत व्यवस्थाले पर्न गएको असर र विभेदप्रति प्रधानमन्त्रीको रूपमा आफूले माफी चाहेको उनले बताए ।

उनले पीडितहरूसँग भने “यस नीतिका कारण तपाईहरूलाई परेको असरप्रति प्रधानमन्त्रीका रूपमा मैले गहिरो क्षमा याचना गर्दछु ।” प्रधानमन्त्री आबेले उनीहरूको अमूल्य जीवनमा कठिनाइ भएको र पीडा पर्र्न गएकोमा आफूलाई अत्यन्त दुःख लागेको बताएका छन ।

उनले रोगबाट पीडितका परिवारजनसँग मिलेर विभेद अन्त्य गर्न सरकारले विषेश अभियान चलाउन चाहेको पनि उल्लेख गरेका छन । प्रधानमन्त्री आबेले पीडितहरूसँग निकै झुकेर कुरा गरेका थिए ।

उनले पीडितमध्येका केही प्रतिनिधि पात्रहरूलाई समेत भेटेको बताईएको छ । जापानको एक अदालतले केही समय अगाडि कुष्ठरोगसम्बन्धी पुरानो कानून विभेदपूर्ण रहेको ठहर गरेर नयाँ कानून बनाउन आदेश दिएको थियो ।