अन्तर्राष्ट्रिय

पहिरोमा परी चीनमा ११ को मृत्यु, ३४ अझै बेपत्ता

गुइयाङ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा पहिरोमा परेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार गुईझोउ प्रान्तमा मङ्गलबार अबेर आएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

उनीहरुले स्थानीय समयानुसार बेलुका ९.२० बजे लिउपान्शुईको गाउँमा पहिरो पसेको बताएका छन् । पहिरोले २१ घर पुरेको छ ।

प्रभावित क्षेत्रमा पहिरो खसेको बेला ५० भन्दा बढी मानिस रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

उद्धारकर्ताहरुले बुधबार बिहान ११ बजेतिर ११ जनाको शव भेट्टाएका थिए । अरू ११ जनालाई जीवितै उद्धार गरिएको र ३४ जना अझै बेपत्ता नै रहेको अधिकारीहरुले जनाएका छन् ।

बेपत्ता भएकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरुले बताएका छन् । घटनास्थलमा मन्त्रालयबाट खटिएको र स्थानीय सरकारले खटाएकाहरुले मिलेर काम गरेका छन् ।

आपत व्यवस्थापन मन्त्रालयले पहिरो गएको थाहा पाउने बित्तिकै उद्धारकर्ताहरुको टोली घटनास्थलमा पठाइएको थियो ।

बेपत्ता भएकाहरुको खोजीका लागि व्यावसायिक उद्धारकर्ता, अग्नी नियन्त्रक, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत गरी एक हजार जना घटनास्थलमा खटिएका छन् ।