लुम्बिनी

अबिरल रुपमा परेको वर्षा नरोकिँदाको कारण पहिरो पीडितका उद्धार र राहतमा कठिनाइ

बुटवल । अबिरल रुपमा परेको वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकाका पहिरो पीडितलाई राहत पुर्‍याउन कठिनाइ भएको छ । आइतबार रातिबाट परेको अबिरल वर्षा आजसम्म पनि नरोकिँदा पहिरो प्रभावित क्षेत्रमा उद्धार र पीडितलाई राहतमा कठिनाइ भएको हो ।

वर्षा नरोकिएकाले बेपत्ताको खोजी कार्य अगाडि बढाउनसमेत नसकिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । सत्यवती गाउँपालिका–४ लिम्घामा सात वर्षीया तारा विक र एक नाबालक सुमन विक अझै हराइरहेका छन् भने वडा नं– ३ ठूलो लुम्पेकमा माया विक र बबि विक पनि अहिलेसम्म फेला नपरेको प्रजिअ पौडेलले जानकारी दिए ।

पहिरोबाट वडा नं– ३ र ४ का करीब ६०० को सङ्ख्यामा विस्थापित भएका छन् । विस्थापित सबैलाई स्थानीय विद्यालयमा राखिएको छ । वडा नं– ३ ठूलो लुम्पेकको सिङ्दी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ । सो क्षेत्रमा दुबै तर्फबाट पहिरो खस्ने क्रम रहेकाले बिचको बस्ती उच्च जोखिममा रहेको प्रजिअ पौडेलले बजानकारी दिए ।

बस्ती पहिरोको खतरामा रहेकाले करीब चार सय जनालाई स्थानीय विद्यालय र अन्य सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष रुकबहादुर रानाले बताए । त्यस्तै वडा नं– ४ लिम्घामा पनि दुई सय घरपरिवारलाई सरस्वती माविमा सारिएको छ । पहिरोको जोखिमका कारण स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिए पनि पशु चौपाया भने घर गोठमै छन् ।

पहिरो प्रभावित क्षेत्र र प्रभावितका लागि तत्काल खाद्यान्नको समस्या देखिएको छ । खाद्यान्नको थप सङ्कट हुन नदिन तत्कालका लागि पोखराबाट खाद्यान्न हेलिकप्टरबाट ल्याउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए । ढुवानीका साधन सञ्चालनका लागि सडकको अवस्था पूर्णरुपले क्षति भएकाले गाउँको मौज्दात रहेको दाल, चामल, चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न सामग्री सकिँदै जाँदा विकल्पको रुपमा हेलिकप्टरको व्यवस्था गरिएको हो ।

उद्धारका लागि अहिल प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको र नेपाली सेनाका थप जनशक्ति पाल्पाबाटसमेत मगाइएको उनले बताए । जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बसेर उद्धार तथा राहतको सम्पूर्ण व्यवस्थापन एकद्वार प्रणालीबाट जिल्ला प्रशासन कार्यालयकै व्यवस्थापनमा हुने उनले बताए ।

उद्धार तथा पहिरो पीडितको व्यवस्थापनका लागि प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालसमेत गाउँमै रहनुभएको छ भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राहत व्यवस्थापनका लागि आज फर्किएका छन् । पहिरोमा पुरिएर दुई स्थानमा नौ जनाको मृत्यु तथा चार जना बेपत्ता भएका छन् । भने दुई जना घाइते भएका छन् ।