समाचार

हिंसापीडितका लागि सहारा बन्दै ओसिएमसी

हेटौँडा । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) हिंसापीडित व्यक्तिका लागि सहारा बनेको छ ।

केन्द्रले प्रदान गर्ने निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्शजस्ता सेवाले लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने हुँदा हिंसापीडित व्यक्तिका लागि सहारा बनेको हो ।

हेटौँडा अस्पतालमा सञ्चालित सो केन्द्रबाट विगत एक वर्षमा ४७६ महिला र ३६ पुरुष गरी ५१२ जना लैङ्गिक हिंसापीडितले सेवा लिएका छन् । तीमध्ये सबैभन्दा बढी २०५ जना शारीरिक हिंसामा परेका व्यक्तिले सेवा लिएका छन् ।

गत वर्ष मासिक तनाव तथा यातनामा परेका १२४ जना, यौनजन्य हिंसाका ९८ जना र घरेलु हिंसाबाट पीडित ८५ जनाले केन्द्रबाट सेवा लिएको केन्द्रकी प्रमुख बालकुमारी ढकालले जानकारी दिए ।

उनका अनुसार ग्रामीण क्षेत्रका पीडित महिलाको यो सेवामा पहुँच बढ्दै गइरहेको छ । केन्द्रमा पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको छ ।

“विगतमा प्रचारप्रसारको कमी थियो, सेवाबारे विश्वास कम थियो, परिवार र समाजको दबाबले पीडित सेवा केन्द्रसम्म आउन सक्ने अवस्था थिएन, पीडितले सत्य बाहिर ल्याउन हिच्किचाउने गर्थे, अहिले चेतना बढेपछि उहाँहरु आउन थाल्नुभएको छ”, प्रमुख ढकालले भने ।

सेवा लिनेमा १९ देखि ४९ वर्ष उमेर समूहका धेरै छन् । यो उमेर समूहका ३६० जनाले सेवा लिएका छन् भने १८ वर्षमुनिका ११३ र ५० वर्षमाथिका ३४ जना रहेका छन। ।

घरेलु हिंसा, शारीरिक चोटपटक तथा मानसिक यातना र यौनजन्य हिंसाबाट पीडित महिला बढी मात्रामा केन्द्रमा उपचारका लागि आउने गरेको दाबी प्रमुख ढकालको छ । पीडितको अवस्था हेर्दा शिक्षित परिवारकै बढी महिला हिंसामा पर्ने गरेको केन्द्रले जनाएको छ । विभिन्न प्रकारको लैङ्गिक हिंसाबाट विशेष गरी महिला तथा बालबालिकामा पर्न जाने शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असरको एकीकृत र प्रभावकारी उपचारका लागि सञ्चालन गरिएको यो केन्द्रबाट लैङ्गिक हिंसापीडित तथा प्रभावितलाई स्वास्थ्योपचार तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने, कानूनी एवं अन्य परामर्श सेवा दिने, आवश्यक सुरक्षाको व्यवस्था मिलाउने, पुनःस्थापना गर्न र लैङ्गिक हिंसाका घटना नियन्त्रणसमेत कार्य हुने गरेको छ ।

लैङ्गिक हिंसा व्यवस्थापन जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रजिअ आश्मान तामाङले ग्रामीण क्षेत्रका पीडितसम्म यो सेवाका बारेमा अझै जानकारी गराउन आवश्यक रहेको बताए । “वडावडामा रहेका जनप्रतिनिधिमार्फत यो सेवाको व्यापक प्रचार गर्न सके थप प्रभावकारी हुने देखिन्छ, पीडकलाई कारवाही र पीडितको पुनस्र्थापना भने अहिले पनि चुनौती नै छ”, उनले भने ।

हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले कानूनी रुपमा मात्रैभन्दा सामाजिक चेतनाको माध्यमबाट हिंसा अन्त्यको समाधान खोज्नुपर्नेमा जोड दिए ।

हेटौँडा अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश पौडेल तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रवीण क्षेष्ठले ग्रामीण क्षेत्रका महिलाहरु अझै पनि यो सेवाका बारेमा जानकारी नहुँदा पीडा सहेर बस्ने गरेको उल्लेख गर्दै व्यापक प्रचारप्रसार र सचेतना जगाउनुपर्नेमा जोड दिए ।