समाचार

एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप नेपालका तीन खेलाडीले भाग लिने

काठमाडौँ, ८ साउन ९ राससःथाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ ।

नेपालमा नै सम्पन्न भएको १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विजेता बनेका तीन खेलाडीसहित एक अफिसियललाई थाइल्यान्ड पठाउने निर्णय गरिएको सङ्घले जनाएको छ । त्यसैगरी चीनको होहोट सिटी इन्नटर मङ्गोलियामा हुने ५३ औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशिप २०१९ मा नेपालबाट नौ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आगामी भदौ २६ देखि असोज १ सम्म हुने उक्त च्याम्पियनशिपमा नेपालबाट बडी बिल्डिङमा तीन, पुरुष स्पोर्ट्स फिजिक र महिला एथ्लेटिक्स फिजिकमा चार र पुरुष एथ्लेटिक्स फिजिकमा दुई गरी नौ खेलाडी सहभागी हुने सङ्घले जनाएको छ । त्यस्तै नेपालमा आयोजना भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनशिपमा पदक विजेता खेलाडीलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट नगदसहित सम्मान गर्ने घोषणा गर्नुभएको छ ।

आगामी मङ्गलबार सो प्रतियोगितामा स्वर्ण पदक विजेतालाई ५० हजार, रजत पदक विजेतालाई ३० हजार र कास्य पदक विजेतालाई २० हजार प्रदान गरिने छ ।
च्याम्पियनशिपमा नेपालले तीन स्वर्ण, सात रजत र छ कास्य पदक जितेको थियो । प्रतियोगितामा टोली च्याम्पियन अफगानिस्तान भएको थियो भने नेपाल दोस्रो बनेको थियो ।