लुम्बिनी

रामपुरका स्थानीयको सहभागितामा सडक कालोपत्रे गर्ने काम समापन भएको छ

रामपुरका स्थानीयको सहभागितामा सडक कालोपत्रे गर्ने काम सकिएको छ । करीब २०० उपभोक्ताको सहभागितामा रामपुर नगरपालिका–७ अन्तर्गत पर्ने कालीआँप आदर्शनगर सडकखण्डमा कालोपत्रे गर्ने काम सकिएको हो ।

आर्थिक वर्ष २०७५ः०७६ मा नगरपालिकाको पाँच वटा सडक कालोपत्रे योजनामध्ये काम सम्पन्न भएको यो मात्र एउटा योजना हो । स्थानीय उपभोक्ताको रु २७ लाख ८५ हजा र नगरपालिकाको रु ६५ लाख गरी कूल रु ९२ लाख ८५ हजारको लागतमा ९३० मिटर सडकको कालोपत्रे सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर शाहीले बताए । दैनिक सयौँको सङ्ख्यामा गाडी ओहोरदोहोर गर्ने यो सडक हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुँदा स्थानीयवासीले सास्तीले खेप्दै आइरहेको टकादेवी भट्टराईले बताए ।

“हिउँदमा धुलो उडेर घर बाहिर निस्केर बस्ने नसकिने, लुगा सुकायो पूरै धुलो टाँसिएर धोएको नधोइ हुन्थ्यो, हामी उपभोक्ताले रकम उठाएर सडक कालोपत्रे गरेपछि धुलो र हिलोबाट मुक्त भइएको छ”, उहाँले भन्नुभयो । नगरपालिकाको एक हजार १३५ मिटर सडक कालोपत्रे गर्ने योजना रहे पनि ९३० मिटरमा सम्झौता भएको काम सम्पन्न गरिएको र बाँकी २०५ मिटरका लागि आर्थिक वर्ष २०७६÷०७७ को नगर सभाले रु १४ लाख रकम विनियोजन गरेको वडा अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताए ।

उपभोक्ताबाट केही रकम उठ्न बाँकी रहेकाले वित्तीय संस्थामा समितिको नाममा ऋण लिएर काम सम्पन्न गरिएको हो । दुवै भागमा नालीसहितको दश मिटर पक्की सडक निर्माण भएपछि आवजावतमा सहज भएको स्थानीय शोभा गौतम बताए ।

आर्थिक वर्ष २०७५ः०७६ मा कालीआँप आदर्शनगर कालोपत्रे सडकसँगै रामपुर नगरपालिका–६ स्थित दुर्गामन्दिर ठूलो आली तालपोखरा कौँवा पुच्छार सडकका लागी रु ६५ लाख, वडा नं ४ को भीमसेनटोल कालोपत्रे योजनाका लागि रु २५ लाखको नगरस्तरीय योजना परेको छ ।

यस्तै वडा नं ५ को बेझाड बजारस्थित गणेश क्षेत्रीको घरको भित्री सडकका लागि रु १२ लाख र तिवारी इञ्जिनीयरिङदेखि देवकोटा अफसेट प्रेससम्म सडक कालोपत्रेका लागि रु १३ लाख रकम नगरपालिकाले विनियोजन गरेको थियो । अहिले यी सडकको कालोपत्रेको काम भइरहेको छ ।