समाचार

यात्रुवाहा जिप दुर्घटना हुँदा एकको मृत्युः दुई घाइते

डोटी । जिप र्दुघटनामा परि बैतडीमा एक जनाको मृत्यु भएको छ । बैतडीको खोडपेमा आज बिहान एक उत्त यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नंको याुत्रवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय हिक्मत सामन्त (साउद) र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन् । चिप्लो बाटो, पानी र कुहिरोका कारण उक्त जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताएका छन ।

उनले भने “आज बिहानदेखि पानी परेको र सडकभरि कुहिरो लागेका कारण दुर्घटना भएको अनुमान गरेका छौँ, विस्तृत विवरण आउन बाँकी छ ।”दुर्घटनामा परी मृत्यु भएका नागरीको शव भीरबाट उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जिप आज बिहान करीब ५.१५ बजेको समयमा दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।