समाचार

छाक टार्नु कि बालबच्चा पढाउनु ? सरकारको निःशुल्क शिक्षा नारा गफमै सीमित

जजरकोट । साँझ–बिहानको एक छाक टार्नलाई मुस्किल पर्ने विकट जिल्लाका वासिन्दा बालबच्चाको पढाईमा सोच्नै भ्याएका छैनन् । साँझ विहान एक छाक टार्नै मुस्किल छ कसरी बालबच्चा पढानु उनिहरु प्रश्न गर्दछन् ।

दिनमा काम नगरे साँझ खाना नै नखाई बस्नुपर्ने यो वाध्यता एक दिनको मात्र हैन दैनिक हो । यस्तै अवस्थाबाट गुज्रिरहेका छन् विकट जिल्ला जाजरकोटका विभिन्न स्थानका वासिन्दा । जस्ले एकदिन काम नगरी बस्दा भोकै बस्नुपर्ने हुन्छ ।

ठुलीभेरी नगरपालिका–२ कुम्लीकर्प डोल्पाकी छायाँ विकले दैनिक दुनै आएर दाउरा बिक्री गरेर छोराछोरीको पढाइ खर्च चलाउँदै आएको बताउछिन् । उनले दैनिक एक भारी दाउरा बिक्री गरेर रु ५०० कमाउँदै आएकी छिन् । तर आफ्नो दैनिकिको यस्तो कामले घर खर्च नै राम्रो संग नधानेकाबेला बालबच्चालाई अरु पढाउन नसकिने बताउछीन् । बिहानै उठेर छोराछोरीलाई खाना खुवाएर आफ्नो तौलभन्दा बढी क्षमताको दाउराको भारी बोकेर दुनैस्थित होटलमा रु ५०० मा बिक्री गर्दै आएको उनको भनाइ छ ।

उनिजस्तै अर्की शोभा विक पनि दैनिक दाउरा बेचेर घर खर्च चलाउँदै आएकी छन् । चार छोराछोरीकी आमा उनले दैनिक दाउरा बिक्री नगरे घर खर्च चलाउन मुस्किल हुने बताईन् । यस्तै अर्का कुम्लीकर्पका धनीराम मिजार विगत ३२ वर्षदेखि आरनको काम गर्दै आएका छन् । दुनैका अधिकांश होटलहरुमा पाक्ने खाना कुम्लीकर्पका दलित समुदायका महिलाले बिक्री गरेको दाउराको भरमा चल्ने गरेको छ ।

घर नजिकैका विद्यालयमा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । सो भन्दा माथि त्यहाँका कुनै बालबालिकाले पढ्न नपाएको मन्मा आधारभूत विद्यालयका प्रधानाध्यापक जयकृष्ण हमालले जानकारी दिएका छन् । सुन्दर आधारभूत, मन्मा आधारभूत र महादेव आधारभूत गरी तीन विद्यालय छन् । तर, विद्यार्थी भने कम हुँदा समस्या हुँदै आएको छ । मावि तह सञ्चालन नभएको सो बस्तीमा अर्थाभावका कारण त्यहाँका दलित समुदायका बालबालिका कक्षा ५ देखि माथि कसैले पढ्न नपाएको हमालले बताए ।

दाउरा बोकेर दैनिक घर खर्च टार्ने दलित समुदायका बालबालिका विद्यालयमा समेत कम आउने गरेको उनको भनाइ छ । मन्मा आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी असु मिजारका तीन बहिनी छन् । उनका बुबाले आरनको काम र आमाले दाउरा बिक्री गरेर घर खर्च चलाउँदै आएका छन् ।आरनको काम र दाउरा बिक्री नभएको दिन उहाँहरुको भान्सामा आगो बाल्न मुस्किल हुने गरेको छ ।

करीब १२० घर दलित समुदाय रहेको यो ठाउँबाट अहिले बसाइँ सरेर अर्को ठाउँमा जाने गरेको अर्का तुले विकले बताए । अप्ठ्यारो ठाउँ, पहिरोको जोखिमका कारण अहिले सुरक्षित स्थानमा यहाँका दलित समुदाय बसाइँ सर्न बाध्य भएको उनले बताएका छन् । बस्ती सर्दा जग्गा र घर निर्माणका लागि अर्थाभाव हुँदा थप समस्या भएको अर्का दलित समुदायका रामबहादुर मिजारले बताएका छन् । त्यहाँका दलित समुदायको स्तरोन्नतिका लागि स्थानीय सरकारले कुनै पनि सहयोग नगरेको गुनासो छ ।

आरन पेशालाई आधुनिक बनाउनेदेखि अन्य आयआर्जनका पेशामा लगानी गरेर जीवनस्तर बदल्न अहिलेसम्म कुनै काम नभएको त्यहाँका सबै दलित समुदायको भनाइ छ । आन्तरिक विवादमा फसेको ठुलीभेरी नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको स्थानीयवासीको भनाइ छ । वर्षायाममा यहाँका दलित समुदाय घर छोडेर अर्काको घरमा शरण लिन बाध्य हुनुपरेको छ । जोखिमपूर्ण बस्ती भएका कारण घर छाडेर अर्काको घरमा शरण लिन बाध्य भएको उनीहरुको भनाइ छ ।

तर यता सरकारको सबैका लागि समान शिक्षा भन्ने नारा सुगम र सहरी क्षेत्रमा मात्र सीमित भएको देखिएको छ । माध्यामीक शिक्षासम्म निःशुल्कको घोषणा गरेको सरकारको त्यो नाराले विकट त्यो गाउँमा छुन सकको छैन । जाजरकोट जस्तो जिल्लामा शैक्षिक अभावका कारण वर्षनि सानै उमेरमा बिवाह गर्नेको संङख्या वढ्दो देखिन्छ ।

विकट जिल्लामा एक त विद्यालय नै घरदेखी टाढा पर्छ भने अर्काे कारण आर्थिक अभावका कारण पनि त्यहाँका बालबालीका पढ्नबाट वंच्चित छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ र सबैका लागि निःशुल्क शिक्षाको नारालाई नारामा मात्र नभई व्यबहारमा लागु गर्न जरुरी देखिन्छ ।