खेलकुद

विश्वकप छनोटको पहिलो खेलमा पराजीत नेपाल आज मलेसियासंग भिडदैः जित्नै पर्ने दबाब

काठमाडौँ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपालले आज (बुधबार) मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल बिहान सवाँ ७ बजे सुरु हुनेछ । मलेसियाविरुद्ध मैदान उत्रदै गर्दा उपाधि दाबेदार नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

दुवै टोलीले प्रतियोगितामा एक एक खेल खेलेका छन् । मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरेको थियो । नेपाल भने कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो । पहिलो खेलमा पराजित भएपछि नेपाली टिम दबाबमा छ । अघिल्लो चरण प्रवेशको सम्भावना बनाउन नेपाललाई मलेसियाविरुद्वको खेल जित्नैपर्ने दबाब छ ।

पहिलो खेल जितेको मलेसियालाई घरेलु मैदानमा नेपालसंग ब्यहोरेको हारको बदला लिने अवसर प्राप्त छ । कतारविरुद्दको खेलमा चोट बोकेका कप्तान पारस मलेसियाविरुद्द खेल्ने नखेल्नेमा आशंका छ । हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।

सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो । नेपालका बसन्त रेग्मीले ३३ तथा परेश लोहनीले ३१ रन बनाए ।

१ सय २२ को लक्ष्य पछ्याएको मलेसिया १८ ओभर ५ बलमा सय रनमा समेटिएको थियो । खेलका म्यान अफ द म्याच बसन्त रेग्मी घोषित भएका थिए । यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । नेपालका महबुब आलमले सर्वा्धिक ३१ रन बनाएका थिए ।

यस्तै ज्ञानेन्द्र मल्लले २२ तथा परेश लोहनीले १९ र पारस खड्काले १० रनको योगदान गरेका थिए । १ सय १२ रनको लक्ष्य पछ्याएको मलेसियाले १७ ओभर २ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गरेको थियो । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । नेपालका पारस खड्काले सर्वा्धिक ८७ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा मलेसियाले ९ विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । र, नेपाल १९ रनले विजयी भएको थियो । सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो । मलेसियाकै क्वालालम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर ३ बलमा सय रनमा समेटिएको थियो ।

नेपालका सन्दीप लामिछानेले ५ विकेट तथा सोमपाल कामीले ३ विकेट हात पारेका थिए । १ सय १ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभर ४ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । पारस खड्काले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । अन्तिम पटक नेपाल र मलेसियाबीच गत हप्ता एसिया फाइनलको छनोट तयारीको रुपमा सिरिज खेलेका थिए । जसमा नेपालले एतिहासिक क्लिन स्विप गरेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

नेपालको जितमा कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाएका थिए । यस्तै ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । नेपालका लागि करण केसीले ३, बसन्त रेग्मी र सन्दीप लामिछानेले २–२ विकेट लिए ।

दोस्रो खेलमा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको थियो । नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । नेपालको लागि विनोद भण्डारीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

२५ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका विनोदले नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वा्धिक छिटो अर्धशतक बनाउने पहिलो नेपाली खेलाडीको कीर्तिमान समेत बनाएका थिए । यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस खड्काले २३ रन जोडे । त्यस्तै रोहित कुमार पौडेलले १९, करण केसीले १६ रन जोड्दा पवन सर्राफ १० रनमा आउट भएका थिए । प्रतियोगितामा नेपाल एक खेलबाट अंक विहिन हुदै तालिकाको पुछारमा छ ।