समाचार

जथाभावी मूल्य लिई तरकारी बेच्ने सात जनालाई अनुगमन टोलीद्वारा कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बढेपछि सरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको छ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज बानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन गरेको छ । अनुगमनका क्रममा सात वटा पसलले तरकारीको मूल्यवृद्धि गर्न सहयोग गरेको भेटिएपछि अनुगमन टोलीले कारवाही गरेको छ ।

किसान, ढुवानीकर्ता वा कृषिउपज सङ्कलन केन्द्रबाट खरिद गरिएको तरकारीको बिल, भरपाइ वा किसानलाई तिरेको रकम पुष्टी हुने कागजात नदेखाएका कारण ती पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए । ६ वटा पसलले प्रत्येकलाई रु पाँच हजार र अर्को एउटा पसललाई रु पाँच हजार ५०० जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका लागि विभागका निरीक्षण अधिकृत पवन प्याकुरेलको नेतृत्वमा तीन वटा टोली खटिइएको थियो ।

अनुगमनका क्रममा तरकारी बजारको अवस्था अत्यन्त नाजुक पाइएपछि तत्काल सुधार गर्न निर्देशन दिइएको महानिर्देशन गौचनले जानकारी दिए । तरकारीको थोक तथा खुद्रा मूल्यसूची राख्न, बिलविजक अनिवार्यरुपमा लेनदेन गर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न र तरकारी बजारको सुधारको कदम चाल्न निर्देशन दिइएको उनले बताए ।

यसैबीच, हरिया तरकारीको अनुगममा केन्द्रित भएको विभागले अब माछा, मासु बजारको पनि अनुगमन गर्ने भएको छ । माछा, मासुमा पनि अत्यधिक मूल्य वृद्धि गरिएको पाइएकाले अनुगमन गर्ने तयारी गरिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए ।

राजधानीमा हरिया तरकारीको मूल्यवृद्धि भएसँगै अहिले माछा, मासुको मूल्य पनि अस्वभाविक रुपमा वृद्धि भएको छ । एक वर्षअघि एक हजारको हाराहारीमा पाइने खसीको मासुको मूल्य वृद्धि भएर अहिले करीब रु एक हजार ३५० पुगेको छ ।