प्रदेश 1

सामाजिक सुरक्षा भत्ताबाट जीवन निर्वाह गर्दै दम्पती

विराटनगर । विराटनगर, ७ साउनः सामाजिक सुरक्षा भत्ताबाट जीवन निर्वाह गरिरहेको एक दम्पतीले सरकारको दीर्घायु र सफलताको शुभकामना दिएको छ । सुनसरी इनरुवा नगरपालिका–७ डोडा निवासी ८३ वर्षीय दुखाई शर्मा खत्वे र उहाँकी धर्मपत्नी ८१ वर्षीया रुनाले सो आशिष दिएकी हुन् ।

गरीबीको चरम अवस्थामा जीवनयापन गरिरहेको सो दम्पतीका चार छोरी विवाह भएर आ–आफ्ना घर गइसकेका छन् । दुब्लो शरीर र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको सो दम्पतीलाई अहिले छोरी घुर्नादेवी खत्वेले स्याहार गरिरहेका छन् । केही वर्ष पहिले खत्वेको पनि श्रीमान् देहान्त भएपछि बेसहारा भएकी उनी अहिले बुबाआमासँगै बस्दै आएकी छिन् ।

हिँडडुल गर्न पनि नसक्ने सो दम्पतीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाट जीवनयापन गरिरहेको छ । थलहा नदी किनारमा रहेको झुपडीमा उनीहरुको गुजारा चल्दै आएको छ । सो दम्पतीले सरकारले दिएको सामाजिक सुरक्षा भत्ताबाहेक डोरी बाँटेर बिक्री गरी थप आम्दानी पनि गर्ने गरेको छ ।

विसं २०५१ मा तत्कालीन नेकपा (एमाले)को सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता, एकल महिलालाई सम्मानस्वरुप प्रतिमहीना रु एक हजार भत्ता दिने गरेको निर्णय आजसम्म त्यस्ता समूहका मानिसका बाँच्ने आधार बनेको छ । त्यसपछिका सरकारहरुले सामाजिक सुरक्षा भत्तालाई बढाउँदै लगेका थिए । वर्तमान सरकारले त्यसमा मासिक रु एक हजार थप दिने निर्णयपछि रु तीन हजार पुगेको छ ।

आ–आफ्ना वडा कार्यालय, नगरपालिका तथा गाउँपालिकाबाट चार महीनामा वितरण गरिँदा एकमुष्ट रुपमा रु १२ हजार पाउने भएका छन् । काम गरेर खान नसक्ने उमेरमा पाउने सामाजिक सुरक्षा भत्ताले उनीहरुमा निकै उमङ्ग र उत्साह बढेको छ । सोही स्थानकी घोघनीदेवी शर्मालाई सामाजिक सुरक्षा भत्ता नै आफ्नो बाँच्ने आधार भएको छ । उनी भन्छिन्, “सरकारले दिएको भत्ताले हामीजस्ता बेसहारा र श्रीमान् गुमाएका महिलाको जीविका चलिरहेको छ ।’’