अन्तर्राष्ट्रिय

हाइटीमा नयाँ प्रधानमन्त्री नियुक्त

पोर्ट ओ प्रिन्स । ७ साउनः हाइटीका राष्ट्रपति जोभेनेल मोसेले सोमबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनले फ्रिज विलियम मिसेललाई यहाँको नयाँ प्रधानमन्त्रीका रुपमा सोमबार नियुक्त गर्नुभएको जनाइएको छ ।

यसअघिका प्रधानमन्त्री जिन माइकल लापिनले राजिनामा दिएपछि सोमबार विलियम मिसेललाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको हो ।

लापिनले राजिनामा दिएपछि मैले यहाँका राष्ट्रिय राजनीतिक दलका नेताहरुका साथै सिनेट र चेम्बर अफ डेपुटिजसँग परामर्श गरेँ र उनलाई हाइटीको नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेँ– राष्ट्रपति मोसेले ट्वीटमा लेख्नुभएको छ ।

उनको मनोनयनलाई सांसदहरुले अनुमोदन गर्नुपर्नेछ । राष्ट्रपति मोसेले सो ट्वीटमा भनेका छ– मलाई लाग्छ मैले हाइटीका लागि यो राम्रो निर्णय गरेको छु ।

निवर्तमान प्रधानमन्त्री लापिनको कार्यकाल अत्यन्तै छोटो रहेको बताइएको छ । उनी गत मार्च महिनामा मात्र नियुक्त भएका थिए ।

सोमबार नियुक्त हुनुभएका प्रधानमन्त्री विलियम मिसेल यसअघि हाइटीको अर्थमन्त्रीका रुपमा काम गरेका थिए । उनी हाइटीका राष्ट्रपति मोसेका विश्वासका व्यक्ति पनि छन् ।
उनलाई अब हाइटीको सरकारलाई जनताको विश्वास आर्जन गर्नुपर्ने जिम्मेवारी आएको छ । यस कार्यलाई हाइटीका अधिकारीहरुले निकै गाह्रो भनेका छन् ।

हाइटी अमेरिकी राष्ट्रहरुमै सबैभन्दा गरिब देशका हो । संयुक्त राष्ट्रसंघमा हालैमात्र गरिएको एक बैठकमा हाइटीमा करिब ५९ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् भनिएको छ ।