अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा बीस सर्बसाधारण मारिए

इद्लिब, सिरिया । ७ साउनः विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २० सर्वासाधारण मारिएका छन् ।
इद्लिबको दक्षिण भागमा रहेका मआरेट अल नुम्यान शहरलाई लक्ष्यगरी भएको यस आक्रमणमा परी अन्य कैयौ व्यक्ति घाइते भएका बताइएको छ ।

रुसको नेतृत्वमा भएको यस आक्रमणमा सिरियाली सरकारी सेनाको पनि सहभागीता रहेको अल जजिरा टेलिभिजन च्यानलले जनाएको छ ।
यस हवाई आक्रमणको लगत्तै सिरियाको उत्तर भागमा पर्ने सरकारको बलियो पकड रहेको हामा प्रान्तको एक गाउँमा विद्रोहीले गरेको गोली प्रहारमा परी सात व्यक्तिको मृत्यु भएको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।

सिरियामा विद्रोहीलाई लक्ष्यगरी बारम्बार गरिने हवाइ आक्रमणमा परी सर्वसाधारण मारिने क्रममा जारी रहेको छ ।
सन् २०११ यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

उक्त गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहहरु हाबी हुदै गयो । सो सयमदेखि हालसम्म वजाररुयिस द्वन्द्वमा परी ३ लाख ७० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।

लाखौ व्यक्ति घाइते भएका छन् भने लाखौ व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।