गण्डकी प्रदेश

उद्धार गरिएका बालक आफन्तको जिम्मा

गलकोट । गण्डकी प्रदेशको राजधानी पोखराका विभिन्न होटलमा बालश्रमिकको रूपमा काम गर्दै आएका बागलुङका तीन बालकको उद्धारपछि आफन्तको जिम्मा लगाइएको छ ।

पोखराका विभिन्न होटलमा भाँडा धुने, पोछा लगाउने, सामग्री ओसारपसार गर्नेलगायतका काममा लगाई श्रमशोषण गरिएको भन्ने सूचनाका आधारमा श्रम तथा रोजगार विभाग कास्कीले तीन बालकको उद्धार गरेको थियो । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ का १३ वर्षीय विक्रम नेपाली, १५ वर्षीय राजु नेपाली र १४ वर्षीय प्रकाश नेपालीको उद्धारपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको रोहवरमा सोमबार आफन्तको जिम्मा लगाइएको हो ।

श्रम तथा रोजगार विभाग कास्की पोखराले असार २३ गते पोखराका विभिन्न होटलबाट ती बालकको उद्धारपछि ‘सेफहाउस’मा राखिएका बालकलाई आफन्तको जिम्मा लगाइएको हो । बालकसहित उनीहरुले होटलमा काम गर्दा पाएको न्यूनतम पारिश्रमिकसहित जिल्ला प्रशासन कार्यालयको रोहवरमा आफन्तलाई जिम्मा लगाइएको श्रम तथा रोजगार विभाग कास्कीका शाखा अधिकृत विन्दुकला भण्डारीले जानकारी दिए । विक्रम नेपालीले विगत १५ महीनादेखि, राजु नेपालीले आठ महीना र प्रकाश नेपालीले १८ महीनादेखि बालश्रमिकको रूपमा पोखराका विभिन्न होटलमा काम गर्दै आएका थिए । विभागले होटलको नाम भने खुलाएको छैन ।

होटलहरुलाई बाल श्रमशोषण गरेकामा कारवाहीका लागि समेत प्रक्रिया अगाडि बढाइएको भण्डारीले जानकारी दिए । होटलले न्यूनतम पारिश्रमिकवापत विक्रमलाई रु ६८ हजार, राजुलाई रु ५० हजार र प्रकाशलाई रु ६६ हजार प्रदान गरेको थियो । उनीहरुले पाएको न्यूनतम पारिश्रमिक उमेर पुगेपछि निकाल्ने गरी गण्डकी विकास बैंक बागलुङको बचत खातामा राखिएको जिल्ला प्रशासन कार्यालय बागलुङका निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बताए ।