खेलकुद

विश्वकप छनोटमा नेपाललाई पहिलो खेलमै झट्काः हारसँगै सुरुवात 

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी(ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

कतारको जितमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । कम्रान खानले २२ रन जोडे । त्यस्तै जाहिर इब्राहिमले १२ रन जोड्दा मुहमद तानभिरले ११ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै करण केसीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो । कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।

कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी(ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए । यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा रहेको थियो । सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । तर, मध्ये क्रममा आएका दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन जोड्दै इनिङ्स उकासेका थिए । यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे ।

कतारका इकबाल हुसेनले ३ विकेट लिए । तमोर साजाद र नुमान सर्वारले २र२ विकेट लिए । अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ । कतारको यो पहिलो जित हो । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग ३३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् । फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अंकविहीन नेपाल तालिकाको पुछारमा रहेको छ ।