समाचार

गुल्मीको छुट्टा–छुट्टै स्थानमा आएको वाढी र पहिरोमा परि ९ को ज्यान गयो, ४ बेपत्ताः अपडेट

पाल्पा । अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए ।

ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ । पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छोरा दर्शनको मृत्यु भएको हो । सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ ।
सिङदीमा पहिरोले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता छन् । पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिए ।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन । भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ । ४ जना पहिरोमा बेपत्ता छन् । बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताए । लिम्घाको भीरकुनाका ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । तीन घरमा ९ जना बस्दै आएका थिए ।

लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन। यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए । बिहान ३ बजेपछि यहाँ ठूलो पानी परेको थियो । अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए ।

यस्तै बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ । यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए ।