विचार/ब्लग

साँच्चै मीरा, बुझ्ने भै छे !

शोभा रावत । साँँच्चै मीरा बुझ्ने भै छ । सबैलाई उडाउदै हिँड्ने उ आज सबैको सम्मान गर्ने भई छे । हिजो बा–आमासंग पैसाको लागि लड्ने उ आज श्रीमानले दिएको पैसा जतन गर्ने भई छे । साँच्चै उ जिम्मेवार पनि भै छे । बुवाको लाडप्यारमा मातिएर हिँड्ने मान्छे मीरा आज ससुरा वुवाका लाागि चिया पकाउने भान्से भै छे ।

हिजो सम्म जिन्सको पाईन्ट र टिसर्टमा रमाउँदै काठमाडौंको नयाँ सडकमा हिड्ने उ आज साडिमा सजिनजान्ने भई छे । घरमा भाई बहिनीसंग झगडा गर्ने मीरा आज श्रीमानको घरमा नन्द, देवरको ईज्जत गर्ने भई छे । साँँच्चै मीरा सहनशिल पनि भै छे ।

कसैको बन्धन, नियम कानुनमा बस्न नरुचाउने मीरा आज श्रीमानको अण्डरमा चल्ने भै छे । माछा–मासु मन नपाराउने मीरा आज श्रीमानको रोजाईको खाना खाने भई छे । मन्दिर देवी देवताको आस्थादेखी टाढा रहने उ आजभोली बिहानै उठेर भगवानको पुजा गर्ने भै छे । साँच्चै मीरा संस्कारी भै छे । बिहान ९ वजे सम्मपनि निन्द्रा नपुग्ने मीरा आजभोली बिहानै ४ वजे उठेर सबका लागि चिया बनाउने भै छे ।

माईतमा छँदा आमाका लागि कहिलै तातो पानी नतताउने उ आज सारा घरको लागि खाना तयार गर्न सक्ने भई छे । बुबा आमाको नजरमा संधै सानी मीरा तर आज ठुली मात्र नभई जिम्मेवार पत्नि, बुहारी, भाउजू भई छे । हिजो छोरी बहिनीका नाताले मात्र परिचित मीराले आज कति धेरै उपनामहरु पनि पाई छे भाउजू, बुहारी, श्रीमती, काकी, देवरानी आदी ।

हिजो सम्म माईतीमा दिदीसंग झगडा गरेर वस्ने मीरा आज आमाजु, जेठानीसंग श्रीमानको घरमा सहकार्य गर्न सक्ने भै छे । साँच्चै मीरा बुझ्ने भई छे । माईतमा हुँदा बाहिरदेखी समयमा कहिलै घर र्फकन नजान्ने मीरा साँच्चै आज त समयको महत्व पनि बुझ्ने भई छे । ठुलो सपना बुनेकि मीरा जो एउटा हिरोईन बन्न चाहन्थी तर आज श्रीमानको घरको लागि एउटा काम गर्ने मान्छे, परिवारको लागि डक्टर भइ छे । उ परिवारको सानो– सानो समस्याको ख्याल गर्नसक्ने भै छे । साँच्चै मीरा अरुको खुसीमा रमाउन सक्ने भै छे ।

संधै आफ्नै कुरा ठुलो र आफ्नै कुरा सहि मानेर साथी भाईसंग झगडा गर्ने मीरा आज श्रिमानको कुरालाई काट्न नसक्ने भई छे । यति मात्रै होईन मीरा कुनै पनि कुरा ढाँट्न नसक्ने पनि भई छे । बच्चा–बच्चि मन नपराउने मीरा आज त्यहि बच्चाको सैतानी पनलाई सहन सक्ने र उनिहरुसंगै रमाउन सक्ने भै छे ।

पहेँलो रंगको कपडा मन नपर्ने मीरा आज श्रीमानको रोजाई पहेँलो भएकोले पहेँलो कपडामानै रमाउने भै छे । आफ्ना मनका हरेक ईच्छा चाहाना पुरा गर्नलाई हर सम्भव जिद्धी गर्ने मीरा आज श्रीमानको पकेटको अभाव बुझ्ने भै छे । मीरा बुझ्ने भै छ । घरमा आफ्नो दाजुसंग सानो– भन्दा सानो कुरामा रिसाउने फुल्ने मीरा आज जेठाजुको अगाडी नम्र भएर बोल्न पनि जान्ने भै छे ।

हिँजो माईतमा बुवाको च्यातीएको कमिज नदख्ने मीरा आज ससुरा बुवाको कमिज मैलेको देख्ने भै छ । हिजो आमाको त्यो सुन्एिको खुट्टा नदेख्ने मीरा आज सासु आमाको आँसु देख्ने भै छे । साँचै मिरा बुझ्ने भै छ । सानो –सानो कुरामा झगडा गरेर वस्ने मीरा आज शान्त स्वभावकी भै छे । खाना खाँदा सधै घुर्काउने मीरा आज आँफैले रचेको खाना खाने भै छ । खाएको भाँडा माझ्न गाह्रो भयो भन्दै ठुसुक्कै परेर बस्ने मीरा आज दिनैभरी काम गर्दा पनि थकान र पींडा लुकाउन सक्ने सहनशिल नारी भै छे ।

हिजो सम्म आफ्नै छुट्टै सपना बोकेर हिँडने मीरा आज परिवार र श्रीमानको सपनालाई आफने सपना मान्ने मान्छे भै छे । माईतमा हुँदा महंगो मोबाईल बोकेर हिँड्न मन पराउने मीरा आज हातमा कुचो बोकेर हिँडन मन पराउने भै छे ।
कुर्ता सुरुवाल लगाउँदा गाह्रो मान्ने मीरा आज हातभरी चुरा, गलामा पोते, कानमा गहनाको बोझ बोक्न सक्ने भई छे । मीरा बुझ्ने मात्र हैन हरेक चिजको भार सम्हाल्न सक्ने भै छे चाहे त्यो मनको होस् या तनको ।

सानो सानो कुरामा आँसु झार्ने मीरा आज बनावटी हाँसो हास्न सक्ने भै छे । साँच्चै मीरा आज हरेक व्यक्तिसंग कसरी बोल्नु कस्तो व्यबहार गर्नुपर्दछ भनेर बुझने भैछ । मीरा एक हिन्दु नारीहरुकी प्रतिनीधि पात्र हुन् । नेपाली समाजमा छोरी हुँदा जुन प्रकारको नारीहरुमा स्वतन्त्रता, खुसी हुन्छ बिहेपछि त्यो सबै चाहेर वा नचाहेर आफुलाई बदल्नुपर्ने बाध्यता रहेको छ ।

पछिल्लो समयमा भन्ने गरिएको छ छोरी हुँदा नारी जति सुखी हुन्छन बुहारी हुँदा दसौं गुणा दुखी हुन्छन । सिनेमामा देखाईने कथाहरुमा छोरी र बुहारीलाई गरेका समान व्यबहारहरु कथामे सिमीत भएका छन ।न बुहारीले आफ्नो सासु– ससुरालाई बुवा–आमा मान्न सकेका छन नत सासु–ससुराले आफ्नी बुहारीलाई छोरी जस्तै मानेर मायाँ गर्न सकेका छन । केवल मायाँ छत नाटकमा देखीने कलाकार जस्तो ।