गण्डकी प्रदेश

सामाजिक कुरीति हटाउन अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

विरेन्द्रनगर । सामाजिक मूल्यमान्यतामा परिवर्तन र परम्परागत हानिकारक अभ्यासबारे सोमबार सुर्खेतको वीरेन्द्रनगरमा अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको छ । समाजमा व्याप्त रहेका सामाजिक कुरीतिलाई हटाउन युएन वुमनको आर्थिक सहयोग तथा द स्टोरी किचनको अयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका सहभागीले कर्णालीमा छाउपडी प्रथा, बालविवाह तथा लिङ्ग पहिचान गरेर भ्रूणहत्या गर्ने समस्या विकराल बन्दै गएको भन्दै यसको न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए । सीमान्तकृत महिलाका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले छोराको मोहले गर्भमा छोरीको भ्रूणहत्या गर्नाले महिलाको प्रजनन स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको बताएका छन । यस्ता महिलालाई पाठेघरलगायत अन्य समस्या विकराल अवस्थामा देखिने गरेको ढकालले बताए ।

त्यसैगरी समाजमा बालविवाहको पनि विकराल अवस्थामा रहेको अधिकारकर्मी एवं आवाज संस्थाका मनोविमर्शकर्ता निशा पौडेलले बताएका छन । पछिल्लो समय बालविवाहको स्वरूप परिवर्तन भएको उनको भनाइ थियो ।
संस्थामा गत आर्थिक वर्ष २० बालविवाहका उजुरी दर्ता भए पनि कुनै पनि मुद्दाहरु कानूनी प्रक्रियामा नगएको उनको भनाइ थियो ।

प्रहरी महिला सेलका डिला विकले छोरा नभएको कारण दोस्रो विवाह गर्ने पुरुषको सङ्ख्या उल्लेख्य रहेको बताए । गत आर्थिक वर्षमा मात्र ४३ बहुविवाहका मुद्दा दर्ता भएको उनको भनाई छ । सामाजिक विकास मन्त्रालयका विश्वणी जोशीले सामाजिक विकृतिविरुद्ध सरोकारवाला निकाय सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका हुन । मन्त्रालयले यस विषयमा विभिन्न खालका कार्यक्रमको आयोजना गरेको भन्दै समन्वय गरेर अघि बढ्ने बताएका हुन ।

कार्यक्रममा इक्वल एक्सेसका अनु उपाध्यायले समाजका तीनवटै पुस्ताका व्यक्तिलाई एकै ठाउँमा राखेर कार्यक्रम गरेमा प्रभावकारी हुने भएकाले नै अन्तरपुस्ता संवाद कार्यक्रमको आयोजना गरिएको बताएका हुन ।