राजनीति

ओलीको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेनः वरिष्ठ नेता पौडेल

हेटौँडा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपी कोइरालाको नेतृत्वमा भएकोे २००७ सालको प्रजातान्त्रिक क्रान्तिका कारण भारतबाट नेपाललाई बचाएर राष्ट्रको अखण्डता कायम भएको बताएका छन् ।

जननायक विपी कोइराला ट्रस्ट काठमाडौँको आयोजनामा ३७औँ विपी स्मृतिसभा एवम् विचार गोष्ठीलाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको भरोसायोग्य पार्टी नेपाली काँग्रेसलाई खरो रूपमा उत्रन आफूलाई आमूल सुधार गर्दै लैजानु आजको आवश्यकता र विपीप्रति सच्चा निष्ठा हुने बताए ।

उनले केपी ओलीको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए । सो अवसरमा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले विपीका विचार अनुसरण गर्नेहरूले मात्र काँग्रेस पार्टीलाई बचाइराखेका बताए ।