सुदूरपश्चिम

जीप दुर्घटनामा चालकसहित १० जना घाइते

डोटी । पूर्वीचौक गाउँपालिका–५ कुडीगाडा र केआइसिंह गाउँपालिका सलेनामा आज छुट्टाछुट्टै जीप दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । धनगढीबाट अछामतर्फ जाँदै गरेको बा १९ च ५३७ नं को जीप दुर्घटना हुँदा चालक अछामको मङ्गलसेन नगरपालिका–५ का थलेन्द्र उपाध्याय, जीपमा सवार कमलबजार नगरपालिका–९ का दीपकप्रसाद उपाध्याय, जयगड गाउँपालिका–६ का रितेश ठकुल्ला, सोही ठाउँका हरक ठकुल्ला, रोनिश ठकुल्ला, दीपा ठकुल्ला र रामारोशन गाउँपालिका–१ का रेजिना खनाल घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अछामको बलयपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी केआइसिंह गाउँपालिका–७ भूमिराजमाडौँको सलेनामा बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सलेनाबाट दिपायलतर्फ आउँदै गरेको से १ ज ६१५ नं को जीप दुर्घटना भएको हो । दुर्घटनामा परी केआइसिंह–६ का सरस्वती भुल, सोही ठाउँकी तुलसी भुल र धना बिठारी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका अनुसार घाइतेको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ ।