राजनीति

बिपी कोईरालाको नीति आज पनि उत्तिकै सान्दर्भिकः नेता भण्डारी

दमौली । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको चर्चा गरे। बिपी कोइरालाले आफू अप्ठ्यारोमा पर्दा पनि पार्टीलाई बचाउन लागि परेको उनले स्मरण गरे । बिपीको आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउन आवश्यक रहेको नेता भण्डारीको भनाइ थियो । “पछिल्लो समय पार्टीमा व्यक्तिवादी सोच हाबी भएको छ”, उनले भने ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले बिपी कोइरालाको बहुआयामिक व्यक्तित्वको बारेमा प्रष्ट पारेका थिए । उनले बिपीसँग भारतको बनारसमा सँगै बस्दाको अनुभव सुनाएका थिए। नेपाली काङ्ग्रेस तनहुँका पूर्वसभापति ध्रुव वाग्लेले प्रत्येक नेतृत्व तहमा रहेका नेता तथा कार्यकर्ताले आफ्नो कमजोरी सुधार गरी अगाडि बढे मात्र पार्टी बलियो हुने बताए ।

कार्यक्रममा काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले, समाजका सचिव प्रदीप घिमिरे, समाजका पूर्वअध्यक्ष कमलामोहन वाग्ले, प्रेमप्रकाश भट्टराई, नेविसङ्घका जिल्ला अध्यक्ष चुडामणि खनाल, आत्मराम बाँस्तोला, प्रजातान्त्रिक विचार समाजका जिल्ला अध्यक्ष ब्रम्हदत्त तिमल्सिनालगायतले बिपीको मेलमिलापको नीतिलाई पार्टीभित्र लागू गर्नुपर्नेमा जोड दिएका थिए ।