समाचार

भारतीय नागरिकको घाँटि रेटी हत्या

ईनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।

भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिएका छन । यादवको देवानगञ्ज गाउँपालिका–२ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले बताएका छन ।

हत्या गर्ने मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी सुनसरीको बर्जु गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा गए राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउपालिका–२ का धीरेन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुयालले जानकारी दिए।

बिआर ३८ एफ ८९३८ नम्बरको भारतीय मोटरसाइकल लिएर घुमफिर गर्न निस्केका यादवको सवारी साधन अनियन्त्रित भएर पुलमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका यादवको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।