प्रदेश 2

सैनामैना नगपालीकाद्धा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर (आइसिटी सामग्री) नगरप्रमुख चित्रबहादुर कार्कीले वितरण गरेका हुन । नगरभित्र रहेका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि भन्दै आइसिटी सामग्री प्रदान गरिएको नगर प्रमुख कार्कीले जानकारी दिएका छन ।

प्रमुख कार्कीले आइसिटी सामग्रीको उच्चतम प्रयोग गर्दै शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रह समेत गरेका हुन । उपप्रमुख बीना राना, काङ्ग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगरअध्यक्ष चेतनारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याललगायतले नगरपालिकाले राम्रो कामको थालनी गरेको विचार व्यक्त गरेका छन ।

गत आर्थिक वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा १०३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो । शिक्षकलाई कम्प्युटर चलाउने तालीमसमेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

प्रविधिले शिक्षकको मनोबल उच्च बनाउने र विद्यार्थीको सिकाइको स्तर पनि बढाइरहेको सैनामैना माविका प्राध्यापक नेत्रलाल पुरीले बताएका छन । नेपाली टाइप, पावर पोइन्टर स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा समेत शिक्षकले तालीम लिइसकेका छन् भने विद्यार्थीलाई उपकरणबाटै पढाउन शुरु गरेका छन् ।

निःशुल्क विद्युत् मिटर वितरण

सैनामैना नगरपालिकाले नगरपालिकाका विपन्न १४७ परिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको छ । ११ वटा वडाबाट विपन्न परिवारका सदस्यलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको हो ।

नगर प्रमुख चित्रबहादुर कार्की र नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले विपन्न समुदायका व्यक्तिलाई निःशुल्क मिटर हस्तान्तरण गरेका हुन ।