अन्तर्राष्ट्रिय

विवादित अमेरिकी अल्पसङ्ख्यक महिला सांसदले क्षमा माग्नुपर्छः ट्रम्प

वासिङ्टन । डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी कङ्ग्रेस (संसद)मा प्रतिनिधित्व गर्ने चार जना सांसदले उनीहरूले व्यक्त गरेका ‘घृणाजन्य कुरालाई लिएर अमेरिकासँग क्षमा माग्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले ती चार सांसदले अमेरिकी राष्ट्रियतालाई सम्मान गर्न नसकेका समेत बताएका छन । ट्रम्पको डेमोक्रेटिक पार्टीका सांसदहरू, अलेक्जेड्रिया ओकासियो–कोर्टेज, रसिदा त्लाइब, इल्हान ओमार र आयन्ना प्रेस्लीतर्फ सङ्केत गर्दै उनीहरू जहाँबाट आएका हुन् त्यतै फर्किनु उचित भएको भन्ने भनाईलाई थप सान्दर्भिक तुल्याउन पुनः नयाँ अभिव्यक्ति दिएका हुन ।

वामपन्थी विचारको पक्षधर अमेरिकी अल्पसङ्ख्यक ती सांसदहरूको भनाईप्रति आक्रोश व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उनीहरू जहाँबाट आएका हुन् त्यही जान भनेको एक हप्ता पछि पुनः अर्को अभिव्यक्ति आएको हो ।

हिस्पानिक, अरबी, सोमानियाली, र अफ्रिकी मुलका सांसदमध्ये तीन अमेरिकामा नै जन्मेहुर्केका अमेरिकी नागरिक हुन् । ओमारसहितका ती सांसदलाई ट्रम्पले अमेरिकालाई दुष्टहरूको शक्ति देख्ने वामपन्थी विचारका प्रशंसक भएको भनी दिएको अभिव्यक्तिले ट्रम्पका हजारौ समर्थक तथा सहयोगीलाई हौसला प्रदान गरेको थियो ।

उनीहरूले अमेरिकी रिपब्लिकनको प्रभाव क्षेत्र मानिने कतिपय ठाउँमा प्रदर्शनसमेत गरेका थिए । तर अमेरिकी राष्ट्रपतिको उक्त भनाईप्रति अमेरिकी डेमोक्रेट्स नेतासँगै बेलायती प्रधानमन्त्री टरिजा मे, जर्मन चान्सलर एन्जेला मर्केलसहितका केही यूरोपेली नेताहरूले समेत आलोचना गरेका थिए ।