कृषि

तरकारी उत्पादनका लागी पकेट क्षेत्र रहेका हुँगीमा हुँगी ‘स्मार्ट’ कृषि गाउँ निर्माणको काम धमाधम

रामपुर । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा हुँगी ‘स्मार्ट’ कृषि गाउँ निर्माणको काम धमाधम भइरहेको छ । कालीगण्डकी करिडोरसँग जोडिएको हुँगी क्षेत्र तरकारी उत्पादनका लागी पकेट क्षेत्र रहेकाले यसको विकास गरी स्मार्ट कृषि गाउँ बनाउन विभिन्न पूर्वाधार निर्माणको काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

कालीगण्डकी करिडोरबाट चीनको नाका केरला तथा भारतसम्म पनि रम्भामा उत्पादित कृषि उपज पु¥याउन सकिने भएकाले यसको आपूर्तिका निम्ति पूर्वाधार निर्माणको काम हुने उहाँको भनाइ छ । गाउँपालिकाका नौगाउँ, च्याङ्लिङ साठी र खयरघारी क्षेत्रमा बसोबास गर्ने करीब ८२ घरधुरीका कृषकलाई लक्षित गरी यो योजना ल्याइएको प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले बताए ।

झण्डै तीन सय रोपनी जग्गालाई लक्षित गरिएको योजनाअनुरुप अहिले पोखरी निर्माण, कुलो निर्माण तथा सम्पर्क कार्यालय निर्माण कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गत वैशाखमा सार्वजनिक गरिएको हुँगी स्मार्ट कृषि गाउँ बनाउनका निम्ति अहिले थोपा सिँचाइका लागि १९ हजार लिटर क्षमताका दुई वटा सिमेन्ट पोखरी, पाँच सय मिटर लामो मुख्य कुलो, तीन सय मिटरको शाखा कुलो, सेमिहाइटेक नर्सरी, कृषि उपज सङ्कलन केन्द्र तथा सूचना केन्द्र निर्माणको काम भएको कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष केदार बस्यालले बताए ।

उहाँले मिनिटिलर, पावर टिलर, राइस प्लान्टर, रिपर लगायतका धान रोप्न र धान काट्न प्रयोग हुने मेशिन वितरण गरेको जानकारी दिए। यस वर्ष समितिले छ क्विन्टल उन्नत जातको धानको बीउ वितरण गर्नाका साथै उन्नत मकै धान तथा तरकारी खेती गर्ने तरिकाबारे ज्ञान तथा सीपसमेत सिकाइएको उहाँले जानकारी दिए ।

स्मार्ट कृषि गाउँ निर्माणका लागि धमाधम काम हुन थालेपछि कृषक हौसिएका छन् । कालीगण्डकी करिडोरसँगै जोडिएको हुँगी क्षेत्रका कृषक कृषि उत्पादनले गाउँको पहिचान नै छुट्टै हुने र प्रदेश नं ५ र ४ का विभिन्न व्यापारिक केन्द्रसँग जोडिएकाले पनि व्यापारका निम्ति सहज हुनेमा ढुक्क छन् । कृषक अच्युत पन्तले गाउँ नै कृषिमय भएपछि आर्थिक रुपमा समेत बलियो हुने बताए । पाँच वर्षमा सम्पन्न हुने योजनाको पहिलो चरणमा गाउँपालिकाले रु १० लाख तथा प्रदेश सरकारको रु ४० लाखको लागतमा काम भइरहेको समितिले जनाएको छ । योसँगै पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ ।