अन्तर्राष्ट्रिय

जापानको माथिल्लो सदनका लागि मतदान

टोकियो । टोकियो, ५ साउनः जापानमा माथिल्लो सदनका लागि आइतबार देशव्यापी मतदान भएको छ ।

यो निर्वाचनलाई प्रधानमन्त्री सिन्जे आवेको छ वर्ष छ महिनाको अहिलेसम्मको कार्यकालका बारेमा आम नागरिकको धारणा मापन गर्ने अवसरका रुपमा पनि हेरिएको छ ।

मतदानका लागि देशभर ४७ हजार मतदान केन्द्र स्थापना गरिएको छ । स्थानीय समय अनुसार बिहान ०७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मतपरिणाम सोमबार बिहान सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यस निर्वाचनबाट छानिने माथिल्लो सदनका सदस्यको कार्यकाल छ वर्षको हुनेछ । कुल सदस्यमध्ये आधाको म्याद तीन वर्ष अगाडि सकिने भएकाले हरेक तीन।तीन बर्षमा निर्वाचन हुनेछ ।

आइतबार भएको निर्वाचनका लागि कुल ३७० उम्मेदवार रहेका छन् । उनीहरुले १२४ सिटका लागि प्रतिस्पर्धा गरेका हुन् ।