अन्तर्राष्ट्रिय

उत्तरी इराकमा सात जना लडाकू मारिए

बग्दाद । बग्दाद, ५ साउन– इराकको उत्तरी निनेभे प्रान्तमा इराकी र अमेरिकी गठबन्धन सेनाको संयुक्त सुरक्षा कारबाही तथा हवाई आक्रमणमा इस्लामिक स्टेटका सात जना लडाकूको मृत्यु भएको छ ।

इराकी सेनाका अनुसार प्रान्तीय राजधानी मोसुलको दक्षिणमा गरिएको कारबाहीमा ती लडाकू मारिएका हुन् ।

यस्तै, अमेरिकी गठबन्धनले अल–बाजमा गरेको एक अर्को सैनिक कारबाहीमा तीन जना इस्लामिक स्टेटका लडाकू मारिएका छन् । कारबाहीका क्रममा लडाकूहरु लुक्ने १९ वटा गोप्य स्थानहरु पनि ध्वस्त बनाएको छ ।

दुबै कारबाहीका क्रममा इस्लामिक स्टेट लडाकूबाट हातहतियार र अन्य सामग्री बरामद गरिएको सेनाले जनाएको छ ।

इराकमा सुरक्षा व्यवस्था पछिल्ला केही समयदेखि नाटकीय रुपमा सुधार आएको छ । सन् २०१७ को अन्त्यतिर इस्लामिक स्टेट परास्त भएसँगै सुरक्षा व्यवस्थामा सुधार आएको हो ।

तैपनि इस्लामिक स्टेटले बेलाबखत लुकिछिपी सुरक्षाफौज र नागरिकमाथि सशस्त्र आक्रमण गर्ने गरेको छ ।