गण्डकी प्रदेश

झोलुङ्गे पुल बनेपछि स्थानीयवासीहरुको छोटियो यात्रा

बलेवा । चिप्लेटी खोलाले बनाएको गल्छीमा उकालीओराली गर्दै वषौंँदेखि यात्रा गर्दै आएका बागलुङको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका दुई गाउँका स्थानीयवासीलाई झोलुङ्गे पुल बनेपछि सहज भएको छ ।

दुई गाउँबीच आउजाउ गर्न कठिनाइ भएपछि स्थानीयवासीको सक्रियतामा चिप्लेटी खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको हो । गलकोट नगरपालिका–१० पाण्डवखानीको चिप्लेटीदेखि बडीगाड गाउँपालिका–३ सिसाखानी जोड्ने ठूलो खोलामा पुल बनाइएको छ ।

गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको रु ४६ लाख बजेटमा गलकोट नगरपालिकाको ३ लाख ११ हजार र स्थानीयको २ लाख ७९ हजार बराबरको श्रमदान जुटाएर कूल ५१ लाख ९० हजारमा पुल बनेको वडाध्यक्ष तिलक घर्तीले बताए । यो पुलका लागि झोलुङ्गे पुल विभागले प्राविधिक सहयोग गरेको थियो ।

एक सय ६ मिटर लामो यो पुल बनेपछि पाण्डवखानीको रमुवादेखि सिसाखानी हुँदै रिघासम्म पुग्ने यात्रीका लागि पनि सहज हुनेछ । “यसअघि धेरैले सास्ती खेप्ने अवस्था थियो, पुलले धेरै सहयोग गरेको छ”, घर्तीले भने, “वर्षात्मा गाईभैँसी हिँडाउन पनि कठिन थियो, अहिले सजिलो भयो ।”

ग्रामीण सडकको ट्र्याक भने खोलाबाटै लगिएको छ । तर वर्षात्मा खोला बढेपछि पैदलयात्री तर्न नसक्ने हुन्छ । खोलाको बाटो हिँड्नु पर्दा वर्षात्मा स्थानीयवासीले सास्ती खेपेका थिए । हिउँदमा पनि पुल अभावमा यातायात कठिनाइ भएपछि पुल निर्माण गरिएको हो । यो पुल बनेपछि पाण्डवखानीदेखि सिसाखानीतर्फ दैनिक पैदलयात्रा गर्नेलाई राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष भीम श्रीसले बताए ।

पाण्डवखानीमा यसअघि स्थानीयवासीले चन्दा सङ्कलन गरेर अन्य केही झोलुङ्गे पुल मर्मतसमेत गरेका छन् । जीर्ण भएका पुलमा यात्रा जोखिम भएपछि मर्मत गरिएको श्रीसले बताए । यहाँ यसअघि कतिपय खोल्सामा काठको फट्के बनाएर तर्ने चलन थियो । त्यस्ता फड्केमा वर्षात्मा दुर्घटनाको जोखिम बढेपछि स्थानीयवासीले पुलका लागि अभियान चलाएका हुन् ।