लुम्बिनी

बगरमा बस्ती, बर्खामा सास्ती

रुपन्देही । रुपन्देही, ५ साउनः बुटवल पवित्रनगरकी मनकला थापा वर्षा शुरु भएदेखि राति सुत्न सकेकी छैनन् । रेडियो, टेलिभिजन र पत्रपत्रिकामा देशभर बाढी र पहिरोले बितण्डा मच्याएका समाचार देख्दा र सुन्दा उनको मुटु काँप्छ । तिनाउ नदी किनारमै सुकुम्बासी बस्तीमा उनको घर छ ।

पोहोर साल तिनाउ नदीमा खासै ठूलो बाढी आएन । अझ अघिल्लो वर्ष भने झोलुड्गे पुल नै बगायो । “अहिले देशभरि घटना भइरहँदा दिनरात आँखा आकाशतिरै छन्,” उनले भने ।
बुटवल–११ बुद्धनगरकी कला थापालाई पनि चिन्ता बाढीकै छ । विसं २०७३ को बाढीले थापाको घरका दुई कोठा बगाएको थियो । बाँकी दुई कोठा तिनाउ नदीमा बाढी आएर लैजान्छ भन्ने उनलाई राम्रै हेक्का छ । विसं २०५९ सालदेखि बगरकै जग्गा भए पनि दुई लाखमा किनेर बसोबास गर्दैआएका थापा परिवारलाई यो ठाउँ छोड्न मन छैन । बाढीले पकाउने, खाने सामान बगाएपछि केही दिन निकै समस्या भएको थियो थापा परिवारलाई । त्यतिबेला बाढीले भत्काएको उहाँको घर अझै टालटुल गर्नै बाँकी छ । “यसपालि पनि ठूलो पानी पर्‍र्यो भने बाँकी दुई कोठा रहँदैनन्,” उनी दुःखेसो गर्छिन् ।
तीन वर्ष अगाडि साउन महिनामा तिनाउ नदीमा आएको बाढीले घर बगाएपछि बुटवल–११ झोलुङ्गेपथ निवासी गीता विकलाई पनि बर्खामा निकै डर लाग्छ ।

“आँखै अगाडि पुलसँगै घर बगायो, हामीले भागेर ज्यान जोगायौं तर, सामान जोगाउन सकिएन,” ७३ सालको बाढी सम्झँदै विक भन्छन्– “यसपालि यस्तो नहोस् ।” नौ जनाको उनको परिवारको तिनाउ नदीकै बगरमा दुई कोठे घर छ ।
वर्षा शुरु भएसँगै बुद्धनगरका ५५ वर्षीय नर बहादुर कनौजे पनि झस्किन्छन् । विसं २०३८ र २०७३ मा आएको बाढीको क्षति बेहोरेका कनौजे यसपालि कुनै पनि विपद् नआओस् भन्ने कामना गर्छन् । “आँखै अगाडि मानिसहरु चिच्याउँदै बगेको देखेको छु, कतिका घर बगाए, जनावर बगाए, ठूलो बस्ती तहसनहस भयो,” ३८ सालमा तिनाउ नदीमा आएको बाढी सम्झिँदै उनले भने । उनीहरु जस्तै रुपन्देहीको तिनाउ, दानव, कञ्चन र रोहिणी नदी आसपासका बासिन्दाहरुको हरेक वर्षको चिन्ता एउटै हुन्छ, त्यो हो बाढी ।
बुटवल उपमहानगरपालिकाको तथ्याङ्क अनुसार तिनाउ नदी आसपासमा अव्यवस्थित बसोबास गर्नेहरुको सङ्ख्या झण्डै १७ हजार छ । बगरमा घर बनाएर जोखिम मोल्नेहरुहरुको सङ्ख्या हरेक वर्ष बढ्दो छ । वास्तविक सुकुम्बासी मात्र होइन बजार क्षेत्रमा घरजग्गा हुनेहरुले पनि नदी आसपासमा घडेरी किनेर राखेको पाइएको छ ।
नदीको बहावलाई नै रोक्ने गरी बगरमै वर्षौदेखि घर बनाएर बसेकाहरुलाई बर्खाभरि बाढीले पिरोलिरहन्छ । बुटवलको तिनाउ नदीको बगर बस्तीले भरिएको छ । नदी किनारमा स–साना झुप्रादेखि ठूल्ठल्ला पक्की घरहरु बनेका छन् । सुकुम्बासी बस्तीमै पक्की सडक र खानेपानीको व्यवस्था छ । बुटवल उप–महानगरपालिकाले अहिले नदी तटमा खासगरी जोखिमयुक्त क्षेत्रमा घर तथा कुनै पनि भौतिक संरचना निर्माणमा रोक लगाएको त छ तर, निर्माणको काम रोकिएको छैन ।
बुटवल उप–महानगरपालिका प्रशासन प्रमुख विष्णु खनालका अनुसार बुटवलमा झण्डै ४० हजार अव्यवस्थित बसोबास गर्नेहरुको सङ्ख्या छ । उपमहानगरपालिकाले नगरमा रहेका अव्यवस्थित बसोबासीहरुको अभिलेख सङ्कलन, सार्वजनिक जग्गाको संरक्षण र खाली जग्गा अतिक्रमण गर्न नदिन प्रयास थालेको उनको भनाइ छ ।
बुटवलको बुद्धनगर, हात्तीसुँड, मजुवा, प्रगतिनगर क्षेत्रमा खाली जग्गा अतिक्रमण गरेर बस्नेहरुको सङ्ख्या धेरै छ । यी क्षेत्र बाढीको उच्च जोखिममा छन् । बगरमै घर बनाएर बसोबास गरेका कारण यी क्षेत्रका नागरिकलाई हरेक बर्खामा बाढीको त्रास हुने गरेको उपमहानगरपालिकाको भनाइ छ ।
पछिल्लो पाँच वर्षमा तिनाउको बहाव क्षेत्रमा बनेका २०० टहरा बाढीले बगाइदिएको छ । वातावरणविद् इञ्जिनीयर खेटराज दाहाल तिनाउ नदी अतिक्रमण नरोकिए ठूलो आपत् आइलाग्ने चेतावनी दिन्छन्। “तिनाउ नदीको बहाव क्षेत्र नै रोकेर घर बनाइएका छन्, यसले भविष्यमा ठूलो सङ्कट निम्त्याउन सक्छ, यसलाई तुरुन्त व्यवस्थापन गर्नुपर्छ,” दाहाल भन्छन् । तिनाउको बहाव क्षेत्र घट्दै गएका कारण ठूलो बाढी आएपछि घरमा पस्ने सम्भावना बढेको हो ।
सुकुम्बासीका नाममा तिनाउ नदीमा भएको मनपरीले रुपन्देहीमा विपद्को जोखिम बढे पनि स्थानीय तहले यसलाई व्यवस्थित गर्न सकेको छैन । तिनाउ बगरमा हरेक वर्ष घर थपिएका छन् । लालपूर्जा नभए पनि ठूलो मूल्यमा घरजग्गाको कारोबार हुन्छ तर, यसको नियन्त्रणका लागि स्थानीय तहले केही गर्न सकेको छैन । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले योजना बनाए पनि नियन्त्रण गर्न समस्या भइरहेको बताए। “तत्काल बस्ती अन्यत्र सार्न पनि सम्भव छैन, यसका लागि सबै पक्षको सहकार्य हुनुपर्छ,” उनले भने।
विसं २०३८ मा तिनाउमा ठूलो बाढी आउँदा पूर्व–पश्चिम राजमार्ग जोड्ने तिनाउ पुल बगाएको थियो । त्यही तिनाउ नदी फुटेर तिनाउ र दानव बनेको थियो । बाढीले दाउरे टोलको १५० घरधुरी बगाएको थियो भने १०० भन्दा बढीको मृत्यु भएको थियो । विसं २०५४ र २०६५ मा पनि यहाँ बाढी आएको थियो । विसं २०७३ मा तिनाउ नदीमा आएको बाढीले बुटवल–१३ स्थित हात्तीसुँढको झोलुङ्गे पुल बगायो ।