प्रदेश 1

प्रहरी सेवालाई बालमैत्री बनाउनका लागि बालोद्यान केन्द्रको उद्घाटन

भद्रपुर । झापाका दुई इलाका प्रहरी कार्यालयमा प्रदेश नं १ सरकारको आर्थिक सहयोगमा बालोद्यान केन्द्र निर्माण गरिएको छ । बालबालिकालाई प्रहरी हाम्रा साथी हुन् भन्ने भावना जगाउने उद्देश्यले अनारमनी इलाका प्रहरी कार्यालय र धुलाबारी इलाका प्रहरी कार्यालयमा रु १० खालकोे लगानीमा दुवै बालोद्यान निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।

उहाँका अनुसार प्रहरी सेवालाई बालमैत्री बनाउनका लागि ती उद्यान निर्माण गरिएको हो । प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको बालबच्चादेखि स्थानीय क्षेत्रका बालबालिकाले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उद्यानमा खेल्न पाउने वातावरण मिलाइएको छ ।

उद्यानमा चिप्लेटी, चाकाचुली, पिङलगायत खेल्ने सामग्री राखिएको छ । उनीहरुको दिनभर रेखदेख गर्र्न र बालबालिकाको जिज्ञासाका उत्तर दिनसमेत एक प्रहरी जवानलाई उद्यानमा खटाइने उनको भनाइ थियो । इप्रका धुलाबारीस्थित उक्त उद्यान आज प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुभारम्भ गरे ।

गत चालू आर्थिक वर्ष २०७५।७६ को बजेटबाट जिल्लाका तीन इप्रकामा परीक्षणस्वरुप ती उद्यान बनाइएकामा प्रदेश नं १ का १४ जिल्लाका प्रहरी कार्यालयमा पनि त्यस्ता उद्यान बनाउने तयारी भइरहेको उनको भनाइ थियो ।

प्रहरी उपरीक्षक मैनालीले अनारमनी र धुलाबारीस्थित ती उद्यान शुभारम्भ गरिए पनि दमक इलाका प्रहरी कार्यालयस्थित उद्यान शुभारम्भ हुन बाँकी नै रहेको बताउँदै चालू आर्थिक वर्ष २०७६।७७ मा जिल्लाका सबै इप्रकामा बालोद्यान निर्माण गरिने जानकारी दिए ।