प्रदेश 1

‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ प्रदेशकै गौरवः मुख्यमन्त्री राई

बिराटनगर । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ सञ्चारकर्मीका लागि अति आवश्यक भएको बताएका छन् । विराटनगर महानगरपालिका–४ मा निर्माणाधीन उक्त सञ्चारग्रामको आज निरीक्षण गर्दै उनले सो सञ्चारग्राम प्रदेशको गौरव भएको बताए ।

मुख्यमन्त्री राईले सञ्चारग्राम निर्माणपछि प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सञ्चारग्राम व्यवस्थित रुपमा सञ्चालन गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । प्रदेशसभा सदस्य चुमनारायण तवदारले उक्त संरचना प्रदेशका लागि आवश्यक भएको बताए ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले सञ्चारग्रामबाट अधिकतम लाभ लिन सञ्चारकर्मीलाई आग्रह गरे । रेडियो नेपालका निर्देशक सुरेश कार्कीले भवन ७५ प्रतिशत निर्माण भएको र असोज मसान्तसम्म सम्पन्न हुने जानकारी दिए । भवनका परिकल्पनाकार डा राजन सुवालले नेपाललमा पहिलो पटक ‘स्टिल स्टक्चर डिजाइन’को रुपमा निर्माण भइरहेको उक्त भवन विद्यार्थीका लागि अध्ययनको केन्द्र बन्ने बताए । सात कठ्ठा जग्गामा सङ्घीय सरकार, रेडियो नेपाल र महानगरपालिकाले संयुक्त रुपमा निर्माण गर्न लागेको पाँचतले सो भवनको लागत रु १८ करोड २५ लाख ५२ हजार रहेको छ ।