स्वास्थ्य

मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा सुपरीवेक्षण गर्ने निकायको अभाव

काठमाडौँ । मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरुले जे जानेका छन् त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।

सुरपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका उपयुक्त हो भनेर खुट्याउनसक्ने अवस्था समेत नभएको सम्बद्ध जानकारले बताएका छन् । मनोचिकित्साको क्षेत्रमा देखिएका त्यस्ता समस्या हल गर्न पेशागत सुपरीवेक्षणका लागि जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँमा प्रशिक्षण शुरु गरिएको छ । प्रशिक्षणमा नेपाल, भारत र बङ्गलादेशका मनोवैज्ञानिक, प्राध्यापक तथा मनोसामाजिक स्वास्थ्य सेवा दिँदै आएका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्था द स्कुल अफ साईकोलोजी नेपालका अध्यक्ष नरेन्द्रकुमार ठगुन्नाले जानकारी दिए ।

नेपालमा पेशागत सुपरीवेक्षण गर्ने निकाय नभएकाले पहिलो पटक यहाँ प्रशिक्षण थालिएको र तालीम लिएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाले प्रमाणपत्र उपलब्ध गराउने ठगुन्नाले बताए ।

अष्ट्रेलियन काउन्सिलिङ एशोसियशनद्वारा मान्यताप्राप्त इण्डियन एकडेमी अफ प्रोफेसनल सुपरभिजनिङ्का संस्थापक डा वासुकीले उहाँहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणका क्रममा उहाँले अन्य क्षेत्रको सुरपरिवेक्षण र मनोचिकित्सा क्षेत्रमा हुने सुपरीवेक्षणको बारेमा जानकारी दिँदै स्नात्तकोत्तर गरेका, प्राध्यापक, मनोविमर्शकर्ता तथा मनोविज्ञानको क्षेत्रमा काम गर्ने हरेकका लागि पनि पेशागत सुपरीवेक्षणसम्बन्धी ज्ञान हुनु जरुरी रहेको बताए ।

उक्त ज्ञानका कारण काम चुस्त र सेवा प्रभावकारी हुने उनको भनाइ छ ।
मनमोहन मेमोरियल अस्पतालकी साइकोलोजिष्ट पुजन शर्माले आफुहरुले काम गरिरहेको भए पनि सुपरीवेक्षणको अभावमा गलत अभ्यासलाई नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताउँदै यस्ता प्रशिक्षणले सच्चिन सहयोग गर्ने आशा व्यक्त गरे ।

बङगलादेशका मनोविद् तान्जिर अहमद तुसारले पेशागत सुपरीवेक्षण सम्बन्धी प्रशिक्षण अहिलेको अवस्थामा महत्वपूर्ण रहेको उल्लेख गरे । सहभागी अञ्जन ढकालले प्रयोग भइरहेका गलत अभ्यासलाई सुधार गरेर सेवा प्रभावकारी बनाउन प्रशिक्षण सहयोगी हुने बताए।

अर्का सहभागी पदमराज जोशीले मनोविज्ञानको क्षेत्रमा प्रमाणित गर्ने संस्था नै नभएको उल्लेख गर्दै गलत सेवा दिइरहेको अवस्थामा सुधार गर्नका लागि पनि पेशागत सुपरीवेक्षण आवश्यक हुने बताए । प्रशिक्षण तीन दिनसम्म चल्ने छ ।