प्रदेश 2

सामुदायिक भवन रातु नदीको बाढीले बगाएपछि दलितबस्ती आश्रयबिहीन

बर्दिवास । महोत्तरीको भङ्गाहा नगरपालिका–२ सिङ्ग्याहीस्थित सामुदायिक भवन बाढीले बगाएपछि दलितबस्ती आश्रयबिहीन बनेको छ । गतवर्ष निर्माण गरिएको सो भवन आज रातु नदीको बाढीले बगाएको हो ।

यसअघि यहाँका बाढी विस्थापित सो सामुदायिक भवनमा बस्दै आएका थिए । असार अन्तिम साताको बाढीले घर बगाएपछि दलित बस्तीका २० परिवार सो भवनमा बस्दै आएका थिए । “भवन बगेपछि हामी अलपत्र परेका छौँ”, हिरेन्द्र महराले भने । अब उनीहरुलाई ओत लाग्ने ठाउँको अभाव भएको छ ।

दलित बस्तीमा आर्थिक वर्ष २०७४।७५ मा नगरपालिकाले सामुदायिक भवन निर्माण गरेको थियो । भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बाढी विस्थापितलाई राहत सामग्री तथा उद्धारको प्रयास गरिरहेको बताए ।