प्रदेश 1

४३ घरबाट मासिक २० रुपैयाँ जम्मा गरी सामाजिक कार्य गरिने

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटमा गठित समूहमा ४३ घर आबद्ध छन् । ती घरका सदस्यले मासिकरूपमा रु २० का दरले लेबीवापत समूहमा रकम जम्मा गर्छन् ।

अधिकांश दुमी राईको बस्ती रहेको बोहोरीबोटमा गठित समूहको बैठक हरेक महीनाको १ गते अनिवार्य बस्छ । बैठकमा सहभागी नहुने घरका सदस्यले अर्को महीना बसिने बैठकमा रु १०० बुझाएमा मात्र समूहमा आबद्ध हुन पाउँछन् ।

अशक्त तथा एकल परिवार रहेका घरको व्यक्तिलाई भने उक्त नियम लागू गरिएको छैन । उनीहरुले छिमेकी तथा आफन्तलाई लेबीवापतको मासिक शुल्क रु २० बैठक खातामा जम्मा गर्न पठाउने गर्छन् ।

मर्दा–पर्दा आफ्नै घरका सदस्यजस्तो व्यवहार गर्ने बोहोरीबोटका स्थानीयवासी लामो समयदेखि समूहमा आबद्ध छन् । समूहमा आबद्ध छ घर मगरबाहेक अन्य सबै दुमी राई परिवारका सदस्य रहेका छन् ।

उनीहरुमध्ये कुनै घरपरिवारका सदस्य बिरामी परेमा एकजुट भएर उद्धारमा सहभागी हुन्छन् । शुभकार्य तथा कीरियामा सबै घरका सदस्य सहभागी नभए समूहमा आबद्ध हुन पाइँदैन अर्थात् सो समूहबाट अलग हुनुपर्छ ।

समूहमा आबद्ध घरका सदस्यको विवाहमा एक पाथी चामल र चार माना रक्सी तथा कीरियामा चार माना चामल र दुई माना रक्सी जम्मा गर्छन् । विवाह तथा कीरिया परेको घरमा जम्मा गरिएको चामल उनीहरु आफैँले पकाउँछन् र पाहुनालाई समेत सम्मानका साथ वितरण गर्छन् ।

उनीहरुले काजभोजमा चलाउन सोही मासिक लेबीवापत जम्मा गरिएको रकमबाट २९७ थाल, १५१ बटुको, पाँच खाना पकाउने भाँडा, ७० चियाकप, ५० पानी खाने जग, छ बाटा, पाँच बाल्टी, दुई गाग्री, दुई पन्यूँ र छ वटा डाडु खरीद गरेका छन् । तीन स्ट्रेचर, एउटा पाल, ३०० मिटर पाइप, एउटा जेनेरेटर र साउण्ड सिस्टम खरीद गरेका छन् ।

सामग्री खरीद गरेर बचेको पैसा समूहकै जगेडा कोषमा जम्मा गरिएको अध्यक्ष दिलकुमार राईले बताए। “समूहमा आबद्ध सदस्यमा विभिन्न आपत्ति आइपर्न सक्छ”, उनले भने, “भैपरी आउने सदस्यको उपचार खर्चका लागि रु ८१ हजार ८० बजेट जगेडा कोषमा राखिएको छ ।”

समूहमा आबद्ध घरका सदस्य रोजगारमा संलग्न रहेको भएमा उक्त परिवारले समेत समूहको बचत खातामा रु एक हजार जम्मा गर्ने गरेका छन् । उनीहरुले जम्मा गरेको रकमसमेत कोषमा राख्ने गरिएको छ ।

स्थानीय भाषामा पगरीभाइको नामले चिनिने समूहको रकमलाई आगामी दिनमा सहकारी बनाएर जम्मा गर्ने योजना बनाइएको सचिव दीपेन्द्र राईले बताए । “गाउँमा बेरोजगार रहेका व्यक्तिलाई आफ्नै ठाउँमा केही गर्न चाहेमा कोषमा जम्मा भएको रकम तीन महीनाका लागि निब्र्याजी दिने योजना बनाएका छौँ”, उनले भने ।

समूहमा आबद्ध सदस्यहरु मिलेर आफ्नो गाउँमा बिग्रिएको बाटो मर्मत तथा सरसफाइसमेत गर्दै आएका छन् । समूहलाई नगरपालिकाले गठन गरेको टोल विकास समितिमा समेत आबद्ध गराइएको वडाध्यक्ष रामचन्द्र राईले बताए ।