राजनीति

सरकारले बाढीपीडित समक्ष राहत पुर्‍याउन सकेन- नेता महतो

धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पुर्‍याउन नसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहनुभएका महतोले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे ।

विस्थापितको पुनःस्थापना गर्न उनले सरकारसँग माग गरे । प्रदेश २ का आठै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाइने समितिका सदस्य महतोले जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले धनुषामा– ११ हजार नागरिक बाढीबाट प्रभावित भएको र राहत अपुग भएको टोलीलाई जानकारी गराए। उनले कमला नदीको पश्चिमी तटबन्ध झण्डै ३५० मिटर भत्काएकाले बाढीलाई थेग्न सक्ने अवस्था नरहेको बताए ।

“तत्काल रु पाँच करोड ५० लाख आवश्यक छ”, प्रजिअ कँडेलले भने। प्रदेश सरकारले उपलब्ध गराएको रु १० लाख अपुग भएको र उद्धार सामग्री आवश्यक रहेको उनको भनाइ थियो । “पीडित चिउरा र भुजाको भरमा बाँचिरहेका छन्”, कँडेलले भने ।

गठित उपसमितिको टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने छ भने अर्को टोलीले सिरहा, सप्तरीलगायत जिल्लाको निरीक्षण गर्ने छ । उक्त टोलीमा रामसहायप्रसाद यादव, देवेन्द्रराज कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्रप्रसाद बडू, डा डिला सङ्ग्रौला, छक्कबहादुर लामा, वृजेशकुमार गुप्तालगायत रहेका छन् ।