बाग्मती

वर्षाको कारण सडक बढाउने काममा लगाईयो रोक

हेटौँडा । सडक दायाँबायाँ २५ मिटर फराकिलो बनाउने काम वर्षाका कारण रोकिएको छ । वर्षाका कारण विभिन्न ठाउँमा भएको सडकको अवरोध खुलाउन एक्साभेटर प्रयोग गर्नुपरेकाले डिभिजन सडक कार्यालयले सडक विस्तार अभियान रोकेको हो ।

गत असार २३ गतेबाट मकवानपुरको लोथरबाट सडक विस्तार शुरु गरिएको थियो । असार २६ गते रातिदेखि अविरल वर्षाका कारण जनजीवन अस्तव्यस्त भएपछि सडक विस्तारको अभियान केही समयका लागि स्थगित गरिएको डिभिजन सडक कार्यालयले जनाएको छ । गत असार ७ गते नेपाल सरकारले १५ दिनभित्र घरटहरा खाली गर्न १५ दिने सूचना जारी गरेको थियो ।

सूचनाअनुसार घर टहरा नभत्काइएपछि असार २३ गतेबाट सडक विस्तारको काम शुरु गरेकामा २७ गतेबाट काम रोकिएको डिभिजन सडक कार्यालयका इञ्जिनीयर नरेश केशरीले जानकारी दिए । वर्षा र पहिरोका कारण हालसम्म मकवानपुरको कान्तिलोकपथ, सिस्नेरी र फाखेललगायतका सडक अवरुद्ध रहेका छन् । मकवानपुरलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि यात्रु मारमा परेका छन् ।

अवरुद्ध बाटो निर्वाधरुपमा सञ्चालन नहुञ्जेलसम्म हेटौँडाको सडक विस्तारको काम शुरु नहुने इञ्जिनीयर केशरीले बताए । यसअघि कार्यालयले मकवानपुरको लोथर, ३ नम्बर पुल र बाराको अमलेखगञ्जबाट सडक विस्तारको काम शुुरु गरेको थियो । हालसम्म कार्यालयले सडक विस्तार गर्दा अमलेखगञ्जमा रहेको प्रभु बैंकको शाखा कार्यालय, आयल निगमको कम्पाउण्डका साथै दुईवटा घरको पाली भत्काएको छ ।