कृषि

खेतीयोग्य जमीनमा सिँचाइको पहुँच बढाइँदै

पाल्पा । तिनाउ गाउँपालिकाले खेतीयोग्य जमीनमा सिँचाइको पहुँच बढाउन थालेको छ । चालू आव २०७६।०७७ देखि कृषियोग्य जमीनमा ५०० हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच बढाउन थालिएको हो ।

गाउँपालिका क्षेत्रभित्र सात हजार ११७ हेक्टर क्षेत्रफल कृषि खेतीयोग्य जमीन रहेको छ । जसमध्ये बाह्रै महीना सिँचाइको सुविधा भएको एक हजार ८०७ हेक्टर र वर्षायाममा मात्रै सिँचाइ हुने क्षेत्र तीन हजार ५२५ हेक्टर जमीन छ । एक हजार ७८५ हेक्टर क्षेत्रफलमा आकाशे पानीको भरमा सिँचाइ गर्ने किसानको बाध्यता हटेको छैन ।

वर्षा नहुँदा पानीको अभाव किसानले अन्नबाली उत्पादनमा समस्या पैदा हुँदै आएको किसानको गुनासो छ । सिँचाइ सुविधा पर्याप्त र भरपर्दो नहुँदासम्म कृषि उत्पादनमा वृद्धि गर्न समस्या हुने देखेर गाउँपालिकाले आगामी पाँच वर्षको अवधिसम्म ४०० हेक्टर जमीन सिँचाइको पहुँच विस्तार गर्न लागेको हो ।

गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिका क्षेत्रभित्र रहेको कचलफाँटको ३०० हेक्टर, ओखलढुङ्गाको जुकेफाँट, झयांगलाफाँटको एक हेक्टर, माराबास बडरेको ५० हेक्टर कृषि उत्पादन क्षेत्रमा सिँचाइको पहुँच विस्तार गरी कृषि उत्पादनमा वृद्धि गर्ने बताए ।

कचलफाँटको रु १३ करोड लगानीमा सञ्चालित आयोजना करीब दुई वर्षमा सम्पन्न गर्ने योजना छ । जसमध्ये रु पाँच करोड बजेट खर्च भइसकेको छ । एक करोडमा लगानी ओखलढुङ्गाको जुकेफाँटमा सञ्चालित सिँचाइ आयोजना यस आव सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष घर्ती मगरले बताए।

माराबाँस बडेरमा सञ्चालित आयोजना ५० हेक्टर जमीन सिँचाइ सुविधा हुनेछ । पहिला केन्द्रीयस्तर सिँचाइका लागि बजेट प्राप्त हुँदै आएकामा अहिले प्रदेश सरकारअन्तर्गत बजेट प्राप्त भइरहेको छ । केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा बाह्रै महीना सिँचाइको सुविधा पुु¥याउन गरी बजेट व्यवस्था गरिने गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए । निर्माणधीन आयोजनालाई निर्माण कार्य छिटोछरितोरुपमा सम्पन्न गर्न र थप आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययनसहित आयोजनाको छनोट तथा कार्यान्वयन गर्ने नीति गाउँपालिकाका प्रवक्ता श्रेष्ठको भनाइ छ ।

गाउँपालिकाले चालू आवमा ३४ साना सिँचाइका आयोजना सञ्चालन गर्नुेपर्ने बजेटको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । गाउँसभाद्वारा यस आवमा सञ्चालित साना सिँचाइका योजनामा डुम्री, पीपल, कुचो निर्माण, माथिल्ला जलके कुलो, सिमलपानी कुरकुरे पाइप खरीद, कठहरा माथिल्लो कुलो निर्माण, ठूलो खेर बर्रे सिँचाइ, रुनिया, गणेशटोल, घोडेबास, उटुवा, भुताह, बगाहा माथिल्लो पाल्टेलगायतका रहेका छन् ।

किपट खेत, खानेपानी तथा सिँचाइको पाइप खरीद, दुमै तल्लो सिँचाइ, बेल दमार कुलो, बेरुवा कुलो, अर्घाछाप डुडैगैरा, लामेदमार कुलो हुसेघाट, मुक सताक, खहरेखोला, दिगांतुङ आफरे, केराबारीडाँडा, केराबारी तल्लो, फिलिम्दी, बारीखेत, भर्ले खेत, चौबिस माइल, बटुले खेत सिस्नेखोला, रिपाहा झयालाफाँट, रिपाहा बाजखरक सान सिँचाइ आयोजना यस आवमा सञ्चालन हुनेछन् ।