अन्तर्राष्ट्रिय

सुडानी सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता सर्यो

खार्तुम । सुडानका सैन्य शासक र आन्दोलनकारीबीचको वार्ता पछि सरेको छ । शक्ति बाँडफाँडको विषयमा दुई पक्षकाबीचमा सहमति भएको भोलिपल्ट हुने तय भएको वार्ता अनिश्चित समयका लागि पछि सरेको एक नेताले शुक्रबार जानकारी दिएका छन् ।

आन्दोलनकारी शक्तिहरूसँग हुने भनिएको वार्ता पछाडि सरेको सुडानी प्रभावशाली नेता ओमर अल डाइजरले एएफपीसँग भने । संयुक्त दृष्टिकोण बनाउनुभन्दा पहिले हामीलाई अझ धेरै आन्तरिक छलफल र परामर्शको आवश्यकता देखिएको उनले भने ।उनले वार्ताका लागि अर्को कुनै मिति तय भइनसकेको पनि जानकारी दिएका छन ।

अर्का आन्दोलनकारी नेता सिद्धिग यौसेफले पनि वार्ता पछाडि सरेको पुष्टि गर्नुभयो । अहिले सैन्य सरकार रहेकोमा नागरिक—सैनिक संयुक्त सरकार बनाउने उद्धेश्यले दुई पक्षकाबीचमा बिहीबार मात्रै प्रारम्भिक “राजनीतिक घोषणा” भएको थियो । शुक्रबार हुने भनिएको वार्तामा दुई पक्षले विविध विषयलाई समेटेर ‘संवैधानिक घोषणा’लाई अन्तिमरूप दिने तयारी थियो ।

उनीहरुले आन्दोलनका क्रममा आन्दोलनकारीविरुद्ध भएको हिंसा, सङ्क्रमणकालीन संसदको गठन, सांसदहरूको भूमिकालगायतका विषयलाई पनि समेट्ने गृहकार्य गरेका छन् । सरकार विरुद्ध भएको आन्दोलनमा सहयोग गरेका तीन ओटा विद्रोही संगठनले भने बिहीबार भएको सम्झौताप्रति असन्तुष्टि जनाएका छन् ।

सुडानमा लामो समयदेखि भएको आन्दोलनपछि केही महिना अगाडि सैनिक सरकार गठन भएको छ भने आम नागरिकले सैनिक सरकार पनि अस्वीकार गर्दै नागरिक सरकार गठनको माग गर्दै आन्दोलन गरेका थिए । उनीहरूको आन्दोलनका कारण सैनिक सरकार र आन्दोलनकारीबीच समझदारी भएर संयुक्त सरकार बनाउने तयारी भएको बताइएको छ ।